

काठमाडौँ- गर्भावस्थामा शारीरिक व्यायाम सुरक्षित हुन्छ कि हुँदैन भन्ने विषयमा अझै धेरैमा अन्योल देखिन्छ । तर पछिल्लो समय विशेषज्ञहरूले सही तरिकाले गरिने व्यायाम आमा र गर्भस्थ शिशु दुवैका लागि लाभदायक हुने बताउन थालेका छन् ।
बीएण्डबी अस्पतालकी पेल्भिक फ्लोर फिजियोथेरापिस्ट अम्शु भट्टराईका अनुसार गर्भावस्थामा गरिने नियमित शारीरिक व्यायामले आमाको शारीरिक र मानसिक स्वास्थ्य मजबुत बनाउनुका साथै बच्चाको समग्र विकासमा पनि सकारात्मक प्रभाव पार्छ । “रिसर्चअनुसार हप्तामा कम्तीमा १५० मिनेट शारीरिक व्यायाम गर्नु फाइदाजनक मानिन्छ,” भट्टराई भन्छिन्, “यसमा स्ट्रेच ट्रेनिङ, स्वासप्रश्वास सम्बन्धी व्यायाम, मानसिक तनाव व्यवस्थापनका अभ्यास तथा हल्का एरोबिक व्यायाम समावेश हुन्छन् ।”
उनका अनुसार गर्भावस्थामा हुने ढाड दुखाइ, पेल्भिक फ्लोर कमजोर हुनु, थकान र मानसिक तनाव कम गर्न व्यायाम प्रभावकारी हुन्छ । तर सबै गर्भावस्था एउटै नहुने भएकाले कुनै पनि व्यायाम सुरु गर्नु अघि चिकित्सक वा फिजियोथेरापिस्टसँग परामर्श अनिवार्य रहेको उनी बताउँछिन् ।
यस्तै, बीएण्डबी अस्पतालकी स्त्री तथा प्रसुति विशेषज्ञ डा. अनुजा कार्की गर्भावस्थामा व्यायामप्रति महिलाहरूको चेतना बढ्दै गएको बताउँछिन् । “पहिले गर्भावस्थामा आराम मात्रै गर्नुपर्छ भन्ने धारणा थियो, तर अहिले धेरै महिलाहरू व्यायामको महत्व बुझ्न थालेका छन्,” डा. कार्की भन्छिन् । उनका अनुसार दैनिकीका कामकाजबाहेक मांशपेशी तन्काउने (स्ट्रेचिङ), एरोबिक्स तथा हल्का मांशपेशी मजबुत बनाउने व्यायाम गर्न सकिन्छ ।
डा. कार्कीका अनुसार कतिपय महिलामा गर्भावस्थामा ढाड दुख्ने, खुट्टा भारी हुने, सुत्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । “यस्ता अवस्थामा आफैंले जथाभावी व्यायाम गर्नु हुँदैन । फिजियोथेरापिस्टसँग परामर्श लिएर अवस्था अनुसार व्यायाम गर्नु सुरक्षित हुन्छ,” उनी भन्छिन् ।
विशेषज्ञहरूका अनुसार नियमित व्यायामले गर्भावस्थामा अत्यधिक तौल बढ्न नदिन, उच्च रक्तचाप र गर्भकालीन मधुमेहको जोखिम घटाउन मद्दत गर्छ । साथै, प्रसव सहज बनाउन, प्रसवपछिको रिकभरी छिटो गर्न र डिप्रेसनको जोखिम कम गर्न पनि व्यायाम उपयोगी मानिन्छ ।
तर अत्यधिक थकाइ लाग्ने, पेट दुख्ने, रक्तश्राव हुने, चक्कर आउने जस्ता समस्या देखिएमा व्यायाम तुरुन्त रोकेर चिकित्सकलाई देखाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । गर्भावस्थामा सुरक्षित, नियमित र सन्तुलित व्यायाम नै आमा र बच्चाको स्वास्थ्यका लागि सबैभन्दा उपयुक्त हुने उनीहरूको निष्कर्ष छ ।



