
मुगु- पुसको पहिलो साताबाट फैलिएको रुघाखोकी (भाइरल इन्फ्लुएन्जा) मुगु जिल्लामा पुसको अन्तिम सातासम्म पनि नियन्त्रणमा आउन नसक्ने देखिएको छ । भाइरल संक्रमणकै कारण सोरु गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ भने विद्यालय बन्ददेखि स्वास्थ्य सेवा दबाबमा पर्ने अवस्था सिर्जना भएको छ ।
सोरु गाउँपालिका–७ की ३६ वर्षीया जानदेवी बिष्ट र वडा नम्बर–६ की ६८ वर्षीया नरया भण्डारीको पुसको तेस्रो सातामा भाइरल संक्रमणकै कारण मृत्यु भएको पुष्टि गरिएको छ ।
रुघाखोकीको प्रकोप बढेपछि सोरु गाउँपालिकाका नार्थपु, कालैं, सिड्डी, खनाया, सोरुकोटलगायतका बस्तीमा प्राथमिक तहदेखि कक्षा १२ सम्मका विद्यालयहरू पुसको अन्तिमसम्म बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समिति र स्थानीय निकायको संयुक्त निर्णयमा विद्यालय बन्द गरिएको हो ।
अधिकांश विद्यार्थी र शिक्षक भाइरल संक्रमणबाट प्रभावित भई पठनपाठन गर्न नसक्ने अवस्था आएपछि सुरुमा एक साताका लागि विद्यालय बन्द गरिएको थियो । तर, संक्रमण कायमै रहेकाले थप एक साता विद्यालय बन्द गरिएको सोरुकोटस्थित विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयबिरे रोकायाले बताए । विद्यार्थी पूर्ण रूपमा स्वास्थ्य लाभ गरेपछि मात्र विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।
यता, धेरै विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहे पनि रुघाखोकी र उच्च ज्वरोका कारण विद्यार्थीहरू परीक्षा दिन आउन नसकेको बाल जनज्योति माविका प्रधानाध्यापक राजबहादुर मल्लले जानकारी दिए ।
सोरु गाउँपालिकाका स्वास्थ्यकर्मी राजेन्द्र शाहीका अनुसार भाइरल संक्रमण भएका बिरामीमा ४–५ दिनसम्म उच्च ज्वरो आउने, टाउको र जिउ दुख्ने, रुघाखोकी लाग्ने, खाना खान मन नलाग्ने र अत्यधिक थकान महसुस हुने लक्षण देखिएको छ । समयमै औषधि सेवन गरी तातोमा राख्दा बिरामी बिस्तारै निको हुने गरेको उनले बताए ।
अत्यधिक चिसोका कारण कतिपय विद्यालयमा घाम ढिलो लाग्ने भएकाले आगो तापेरै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ ।
छायानाथ रारा नगरपालिका–१२ (बामगाउँ) क्षेत्रमा पुसको दोस्रो सातासम्म छोटो समयमै पाँच जनाको मृत्यु भएको थियो । यद्यपि जिल्ला अस्पताल मुगुका अनुसार ती मृत्युहरू दीर्घरोगसँगै अत्यधिक चिसोको असरका कारण पनि हुन सक्ने बताइएको छ । सो नगरपालिकाका वडा नम्बर १, ५ र ७ मा ज्वरो र रुघाखोकीका धेरै बिरामी भेटिएका छन् ।
सोरु गाउँपालिकाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, कालैं र धैनलगायत एक दर्जनभन्दा बढी बस्ती प्रभावित छन् । यहाँका प्रायः प्रत्येक घरमा बिरामी रहेको र विद्यालयका विद्यार्थीहरूमा संक्रमण व्यापक रूपमा फैलिएको जनाइएको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का पापु, माग्री, मह र चिमाल गाउँहरूमा मंसिरको दोस्रो सातादेखि ज्वरो फैलिएको छ । यहाँका स्वास्थ्य चौकीहरूमा बिरामीको चाप अत्यधिक बढेको छ । ६३० जनामध्ये २ जनालाई जिल्ला अस्पताल मुगुमा रिफर गरिएको र हाल स्वास्थ्य शिविर सञ्चालन गरी इन्फ्लुएन्जा पोजेटिभ बिरामीलाई नियन्त्रणमा ल्याउन थालिएको स्वास्थ्यकर्मी बलिराज बुढाले बताए ।
खत्याड गाउँपालिकाका गम्था, रिगा, रातापानीलगायत क्षेत्रमा पनि भाइरल संक्रमण देखिएको छ । उपचारका लागि स्वास्थ्यकर्मी पठाइएको खत्याड गाउँपालिका–२ का अध्यक्ष हेमराज मल्लले जानकारी दिए ।
दुर्गम क्षेत्र भएकाले कतिपय ठाउँमा सिटामोलजस्ता आधारभूत औषधिको अभाव र दक्ष स्वास्थ्यकर्मीको कमीका कारण उपचारमा समस्या देखिएको छ । यद्यपि जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालयले प्रभावित बस्तीहरूमा चिकित्सक टोली पठाएर स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।
स्थानीयवासीका अनुसार लामो समयसम्म वर्षा र हिमपात नहुँदा सुख्खा हावाले चिसो अत्यधिक बढेको र त्यसकै कारण रुघाखोकी, निमोनिया र भाइरल संक्रमण तीव्र रूपमा फैलिएको हो ।




