

डोल्पा- हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गम्भीर औषधि अभाव देखिएको छ । नगरपालिकामातहत सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि सकिँदै गएपछि सेवाग्राहीहरू प्रभावित बनेका छन् ।
आर्थिक वर्षको सुरुमै खरिद गर्नुपर्ने औषधि प्रमुख प्रशासकीय अधिकृत नहुँदा झण्डै सात महिनासम्म खरिद प्रक्रिया अघि बढ्न नसक्दा स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको हो ।
नगरपालिका मातहतका १२ वटै स्वास्थ्य इकाइहरूमा सामान्य सिटामोल, एमोक्सिसिलिन, जीवनजल, दमसम्बन्धी औषधिलगायत धेरै अत्यावश्यक औषधि सकिएको स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुले जानकारी दिए । ‘कार्यालय प्रमुख नहुँदा लामो समयदेखि औषधि खरिद हुन सकेको छैन । त्यसकै कारण अहिले सामान्य किसिमका औषधिसमेत उपलब्ध छैनन् । स्वास्थ्य चौकीका इन्चार्जहरूले पनि औषधि अभाव भएको विवरण पठाएका छन्,’ पनेरुले भने ।
उनका अनुसार औषधि खरिदका लागि बजेट भए पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । ‘अहिले जिल्ला अस्पतालबाट केही औषधि मागेर काम चलाइरहेका छौँ, तर त्यो पर्याप्त छैन,’ उनले भने ।
डोल्पामा जाडो मौसम सुरु भइसकेको र रुघाखोकी तथा ज्वरोका बिरामीहरूको चाप बढिरहेको बेला औषधि अभाव झनै समस्याजनक बनेको स्वास्थ्यकर्मीहरू बताउँछन् । नगरपालिकाको केन्द्रमै रहेको नगर अस्पतालमा समेत औषधि पर्याप्त छैन ।



