
डडेल्धुरा- संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले यहाँका नागरिकलाई लक्षित गर्दै जटिल प्रकृतिका हाडजोर्नीसम्बन्धी शल्यक्रिया सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्न थालेको छ । यससँगै उपचारका लागि ठूला सहर वा जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्दै गएको छ भने बिरामी र उनका परिवारले व्यहोर्नुपर्ने झन्झट र ठूलो खर्चसमेत जोगिने भएको छ ।
अस्पतालमा पछिल्लो समय विभिन्न जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन् । अमरगढी नगरपालिका–७ का ६५ वर्षीय पुरुष बिरामीको तिघ्रा फेर्ने (हिप रिप्लेसमेन्ट) शल्यक्रिया सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । यस्तै, अमरगढी नगरपालिका–१० का ७० वर्षीय पुरुषमा देखिएको घुँडाको हड्डी भाँचिएको समस्याको पनि सफल शल्यक्रिया गरिएको छ ।
डडेल्धुरा अस्पतालको सेवा प्रभावकारी बन्दै जाँदा जिल्लाबाहिरका बिरामीसमेत उपचारका लागि यहाँ पुग्न थालेका छन् । बैतडीको शिवनाथ गाउँपालिका–३ की ६५ वर्षीया महिलाको घुँडासहित टिबिया र फिबुला हड्डी भाँचिएको जटिल अवस्थाको शल्यक्रिया सफल भएको अस्पतालले जानकारी दिएको छ । त्यस्तै, दार्चुलाको लेकम गाउँपालिका–६ की २७ वर्षीया महिलाको पनि हाडजोर्नीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
अस्पतालका अनुसार पुस महिनाका २५ दिनभित्र मात्रै जटिल प्रकृतिका ४० वटा शल्यक्रिया सम्पन्न भइसकेका छन् । तीमध्ये केही शल्यक्रिया सुदूरपश्चिम प्रदेशमै पहिलो पटक गरिएको दाबी अस्पतालले गरेको छ ।
डडेल्धुरा अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता क्रमशः कम हुँदै गएको छ । अस्पतालले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्दै गुणस्तरीय उपचारलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ ।




