
विराटनगर- नेपाल औषधि व्यवस्था विभाग (डीडीए) विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा नोबेल अगाडिका ७ वटा फार्मेसीहरूमा शिलबन्दी गरिएको छ ।
अनुगमन टोलीले शिलबन्दी गरेका फार्मेसीहरूको सूची र तिनले गरिरहेको बदमासी सुन्दा सामान्य उपभोक्ता झस्कने अवस्था छ । सिताराम फार्मेसी यहाँ अनुसन्धान गर्दा नेपालमा दर्ता नै नभएका भेटिएपछि शिलबन्दी गरिएको विभागले जनाएको छ । त्यसैगरी छिन्नमस्ता फार्मेसीले पनि दर्ता विनाका अवैध औषधिहरू बिक्री गरिरहेको फेला परेको थियो । धनगढी माई मेडिकलले लामो समयदेखि दर्ता नवीकरण नगरेको भेटिएको छ ।
सुसंस्कृति फार्मेसीमा औषधि पसलमा अनिवार्य रूपमा रहनुपर्ने ‘फार्मासिस्ट’ वा औषधि विज्ञ यहाँ भेटिएनन् । बिना विशेषज्ञ पसल सञ्चालन गरेर जोखिम निम्त्याइरहेको पाइएपछि यसमा पनि ताला लगाइएको विभागले जनाएको छ । त्यसैगरी आविष्कार फार्मेसीले मानवीय स्वास्थ्यका लागि विष बराबर मानिने ‘म्याद सकिएका’औषधिहरू भण्डारन गरेको भेटिएको छ । गोल्ड फार्मेसीले औषधी व्यवस्था विभागमा दर्ता नै नगरी ‘अण्डरग्राउण्ड’ शैलीमा औषधि व्यापार गरिरहेको पाइएपछि शिलबन्दी गरिएको विभागले जनाएको छ ।




