काठमाडौं– नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। झापाको दमक नगरपालिका–९ घर भएका बिकास पौडेललाई साइबर ब्युरोले सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टबाट पक्राउ गरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत अभियोग दर्ता गरेको हो।
गत असोज २६ गते मेडिकल काउन्सिलको वेबसाइट ह्याक गरी ‘जेनजी आन्दोलन’ का क्रममा मारिएका युवाहरूको विषय उठाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको मागसहित ब्यानर राखिएको थियो।
प्रहरी अनुसन्धानका क्रममा काउन्सिलको सर्भरमा अनधिकृत पहुँच पुर्याई ७.६ जीबी डाक्टरहरूको सर्टिफिकेट, १२३ एमबी सम्पर्क विवरण र १५ एमबी मार्कसिटसहित ठूलो मात्रामा डाटा चोरी भएको खुलेको छ। ती विवरण ह्याकरले आफ्नो टेलिग्राम च्यानलमा सार्वजनिकसमेत गरेका थिए।
प्रहरीले टेलिग्राम आइडी र मोबाइल नम्बर ट्र्याक गरी पौडेललाई पक्राउ गरेको हो। बयानका क्रममा उनले ह्याकिङ गरेको स्वीकार गर्दै सामाजिक उद्देश्यका लागि यस्तो गरेको दाबी गरेका छन्।







