काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले अस्पतालभित्र देखिने समस्याहरू आन्तरिक रूपमा नै समाधान गर्न र नागरिकबाट कुनै पनि गुनासो नआउने गरी सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएकी छन्।
कान्ति बाल अस्पतालको ६४औँ स्थापना दिवस (वार्षिकोत्सव) का अवसरमा आज मिति २०८२ साल पुस २२ गते आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गौतमले वर्तमान अवस्थामा नयाँ आयोजनाहरू तत्काल अघि बढाउन कठिन रहेको स्पष्ट पारिन्। तथापि, अस्पताल सञ्चालनमा कुनै समस्या उत्पन्न भए जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने र थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्यामा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
उनले कान्ति बाल अस्पताललाई देशकै अत्याधुनिक बाल स्वास्थ्य संस्थाको रूपमा विकास गर्ने विषयमा मन्त्रालय सधैँ सकारात्मक रहेको उल्लेख गर्दै भविष्यमा अस्पताललाई एक हजार शय्याको ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’का रूपमा विस्तार गर्न आवश्यक पर्ने नीतिगत निर्णयहरूमा मन्त्रालयले सकारात्मक भूमिका खेल्ने बताइन्।
मन्त्री गौतमले सेवा सुधार, व्यवस्थापन सुदृढीकरण र अभिभावक तथा सेवाग्राहीको भरोसा बढाउने गरी काम गर्न अस्पताल प्रशासनलाई निर्देशन दिँदै बाल स्वास्थ्य सेवा राज्यको प्राथमिकतामा रहेको समेत स्पष्ट पारिन्।







