काठमाडौं- स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्तसम्म हासिल भएका उपलब्धिहरू सार्वजनिक गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममार्फत सञ्चालन भइरहेका गतिविधि, सूचकअनुसारको प्रगति, कार्यक्रमको पैरवी, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा सुधारका प्रयासबारे जानकारी दिएको हो।
कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष तथा निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन गरी नीतिगत सुधार गरिएको बताए। संशोधनअनुसार अब देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दुका रूपमा कम्तीमा एक सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य गरिएको छ।
उनका अनुसार दाबी भुक्तानी तथा समीक्षा सम्बन्धी कार्यविधिमा पनि संशोधन गरिएको छ, जसमा रियल टाइम क्लेमसहितका नयाँ प्रावधान समावेश गरिएको छ।
यस्तै, आठ प्रकारका कडा रोगका बिरामीलाई थप एक लाख रुपैयाँसम्मको सेवा सुविधा उपलब्ध गराइएको बोर्डले जनाएको छ। यसै वर्ष गरिब पहिचान तथा प्राथमिकताका आधारमा बीमा कार्यक्रममा आवद्ध गराउने कार्यविधि स्वीकृत गरी लागू गरिएको छ।
बोर्डका अनुसार कार्यान्वयन र प्रणालीगत सुधार अन्तर्गत ७५० स्थानीय तहमा कार्यक्रम विस्तार गरिएको छ भने ३५० स्थानीय तहबाट ३८२ स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु स्थापना गरिएको छ।







