धनगढी – सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले डायलाइसिस सेवामा अत्यधिक चाप बढेपछि नयाँ नियमित बिरामीलाई सेवा दिन नसक्ने जनाएको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको सेती प्रादेशिक अस्पतालले जारी गरेको सूचनाअनुसार हाल अस्पतालमा २१ वटा डायलाइसिस शैयामार्फत २०० भन्दा बढी नियमित बिरामीलाई डायलाइसिस सेवा प्रदान भइरहेको छ । तर, बिरामीको संख्या अत्यधिक बढ्दै गएपछि अब इमरजेन्सीबाहेक नयाँ नियमित बिरामीलाई डायलाइसिस सेवा दिन सम्भव नभएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।
अस्पतालले २०८२ साल पौष २२ गते जारी गरेको सूचनामा डायलाइसिस सेवामा देखिएको चापका कारण तत्कालका लागि नयाँ नियमित बिरामी थप्न नसकिने जनाउँदै यसबारे सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ ।
सेती प्रादेशिक अस्पतालमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट मिर्गौला रोगीहरू उपचारका लागि आउने गरेका छन् । सीमित शैया र बढ्दो बिरामी चापका कारण सेवा व्यवस्थापनमा चुनौती थपिएको अस्पताल प्रशासनको भनाइ छ ।







