काठमाडौँ- उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हाललाई यथास्थितिमा नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै संघको माघ २ गतेदेखि सुरु हुने दुई चरणको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।
डा. अजयकुमार मिश्र र डा. गणेश चौधरीसमेतले दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलास (इजलास नं. १३) ले यस्तो अन्तरिम आदेश दिएको हो ।
अदालतले नेपाल चिकित्सक संघले मिति २०८२/६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ अन्तर्गतको नियम ६ अनुसार पूरा भएको नदेखिएको ठहर गरेको छ । अन्तिम आदेश नआएसम्म निर्वाचन प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने निष्कर्षसहित हाललाई यथास्थितिमा राख्न आदेश दिइएको हो ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार डा. अजयकुमार मिश्रको उम्मेदवारी निर्वाचन समितिले खारेज गरेपछि उनले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सोही रिटमाथिको सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सुनुवाइका क्रममा निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य तथा अधिवक्ता गोकुल भण्डारी उपस्थित थिए भने विपक्षी नेपाल चिकित्सक संघको तर्फबाट वरिष्ठ अधिवक्ताहरू उपेन्द्र केशरी न्यौपाने, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी तथा अधिवक्ता बाबुराम अर्यालले बहस गरेका थिए ।
उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम जारी गरिएको अन्तरिम आदेशअनुसार विपक्षीलाई आदेशको सूचना दिई नियमानुसार पेश हुन भनिएको छ ।
यो आदेशसँगै बहुप्रतीक्षित नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।







