डडेल्धुरा- संघीय सरकार मातहत सुदूरपश्चिमको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल भनेर चिनिएको डडेल्धुरा अस्पताल अहिले बिरामीका लागि उपचार केन्द्र होइन, दुःखको केन्द्र बनेको छ। पाँच महिनादेखि एक्स–रे सेवा ठप्प हुँदा सामान्य चोटपटकदेखि गम्भीर अवस्थाका बिरामीसम्म उपचारविहीन हुन बाध्य छन्। तर, अस्पताल डुबिरहेको बेला मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुधा देवकोटा भने अष्ट्रेलियामा मस्त रहेको आरोप लागिरहेकाे छ।
डोटीको शिखर नगरपालिका–१० बानेडुङ्ग्रसैनका अर्जुननाथ योगी यसको ज्वलन्त उदाहरण हुन्। सडकमा हिँड्दै गर्दा मोटरसाइकलको ठक्करबाट खुट्टामा गम्भीर चोट लागेपछि परिवारले ६ हजार रुपैयाँ खर्चेर उनलाई डडेल्धुरा अस्पताल पुर्यायो। तर अस्पताल पुगेपछि चिकित्सकले ‘एक्स–रे सेवा नै छैन’ भन्दै उपचार असम्भव भएको बताए। अन्ततः घाइते योगी उपचार नपाई फर्किन बाध्य भए।
उनका छोरा चन्द्रनाथ योगी भन्छन्, ‘बुवालाई उपचारको आशामा अस्पताल लगियो, तर एक्स–रे छैन भनेर फर्काइयो। निजी औषधि, गाडी भाडा र अनावश्यक यात्राले झन् पीडा थपियो।’
यो कुनै एक घटना मात्र होइन। डडेल्धुरा अस्पताल पुग्ने अधिकांश बिरामी एक्स–रे गर्नकै लागि फर्काइने गरेका छन्। संघीय सरकार मातहत सुदूरपश्चिमका सात पहाडी जिल्लाको मुख्य रेफरल अस्पताल मानिने डडेल्धुरा अस्पतालमा आधारभूत परीक्षणसमेत नहुनु गम्भीर प्रश्न बनेको छ।
अस्पतालमा रहेका दुईवटा एक्स–रे मेसिनमध्ये ठूलो मेसिन पाँच महिनादेखि बिग्रिएको छ। सानो मेसिनबाट हात–खुट्टाको सामान्य एक्स–रे मात्र सम्भव हुँदा ढाड, कम्मर र जटिल परीक्षण चाहिने बिरामीलाई धनगढीका निजी अस्पताल धाउन बाध्य पारिएको छ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझा नयाँ एक्स–रे मेसिन खरिद अन्तिम चरणमा पुगेको दाबी गर्छन्। उनका अनुसार बिग्रिएको मेसिनको ब्याट्री नेपालमा नपाइने र चीनबाट ल्याउन आग्रह गर्दा सम्बन्धित कम्पनीले उपलब्ध नगराउँदा समस्या आएको हो।
तर अस्पताल भित्रको अवस्था झन् भयावह छ। अस्पताल भवनभित्र रक्सीका बोतल र पेटी फेला परेको, आफूखसी कोटेशन वितरण भएको चर्चाले अस्पतालमा भाँडभैलो मच्चिएको बेला मेसु डा. सुधा देवकोटा भने चुपचाप डडेल्धुरा छाडेर बाहिरिएको खबर सार्वजनिक भयो।
अस्पताल स्रोतका अनुसार मेसु देवकोटाको बसाइँ डडेल्धुराभन्दा काठमाडौंमै बढी हुने गरेको छ। हाल उनी काठमाडौंमा नभई अष्ट्रेलियामा रहेको चर्चा व्यापक छ। स्रोतका अनुसार मेसु देवकोटाकी छोरी अष्ट्रेलियामा रहेकी छन् र उनी त्यतै पुगेको आरोप छ।
यद्यपि अस्पताल प्रशासनले भने ‘अफिसकै कामका लागि काठमाडौं गएको’ भन्ने औपचारिक प्रतिक्रिया दिँदै आएको छ। तर, मेसुले अस्पतालको जिम्मेवारी निमित्त मेसु डा. निर्माण शाक्यलाई सुम्पिए पनि गम्भीर विषय के छ भने, मेसु पदका लागि प्रयोग हुने सरकारी सम्पर्क नम्बर ९८५८७५३२०१ समेत आफैँसँग लगेर बन्द गरिएको छ। उनको व्यक्तिगत नम्बरमा समेत फोन सम्पर्क हुन सकेको छैन।
दशैंअघि अस्पताल छाडेकी मेसु देवकोटा तिहार सकिँदासम्म पनि नफर्किएपछि कर्मचारीहरूले तलब नपाएको गुनासो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आक्रोश पोखेका थिए। त्यसबेला भारत उपचारका लागि गएको भनिए पनि, वास्तविकतामा अष्ट्रेलिया भ्रमणमा रहेको चर्चा फैलिएको थियो।
अस्पताल सेवा विस्तार, व्यवस्थापन र गुणस्तर सुधारप्रति अस्पताल विकास समिति समेत बेखबर जस्तै देखिएको छ। संघीय सरकारको ‘विशिष्ट विशेषज्ञ’ अस्पताल बिरामीका लागि भरोसा होइन, बाधा बन्दै गएको अवस्थामा तत्काल सर्वपक्षीय छलफल र उच्चस्तरीय छानबिनको माग चर्किँदै गएको छ।







