

काठमाडौँ- गएको सेप्टेम्बरको अन्तिम सातातिर दुखाइ निवारक औषधि पारासिटामोलबारे विश्वव्यापी बहस चर्किएको थियो। सेप्टेम्बर २३ मा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भावस्थामा पारासिटामोल सेवन नगर्न महिलाहरूलाई सल्लाह दिएपछि यसको प्रयोग र असरबारे अन्तर्राष्ट्रिय स्तरमै प्रश्न उठेका थिए।
तर हालै सार्वजनिक भएको एक नयाँ विस्तृत रिपोर्टले गर्भावस्थामा पारासिटामोल सेवन गर्ने र बच्चाहरूमा अटिजम वा एडीएचडी (ध्यान अभाव तथा अतिसक्रियता विकार) विकास हुने जोखिमबीच कुनै ठोस सम्बन्ध फेला नपरेको देखाएको छ। व्यापक अध्ययनहरूको विश्लेषणपछि डाक्टरहरूको टोलीले पारासिटामोललाई खतरनाक औषधिको रूपमा नदेखिएको निष्कर्ष निकालेको हो।
पारासिटामोल विश्वमा सबैभन्दा बढी प्रयोग हुने दुखाइ कम गर्ने औषधि मानिन्छ। अमेरिकामा मात्रै झन्डै आधा गर्भवती महिलाले गर्भावस्थाका कुनै न कुनै चरणमा पारासिटामोल सेवन गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा बच्चाहरूमा अटिजमका घटना तीव्र रूपमा बढ्दै गएकाले वैज्ञानिकहरूले यसको सम्भावित कारणहरू खोजिरहेका छन्। यस क्रममा केही अध्ययनहरूले गर्भावस्थामा पारासिटामोलको प्रयोगलाई सम्भावित कारकका रूपमा उल्लेख गरेका थिए, जसकै सन्दर्भमा ट्रम्पले पनि चेतावनी दिएका थिए।
तर विशेषज्ञहरूका अनुसार बच्चाहरूमा अटिजमको संख्या बढ्नु पारासिटामोलको प्रयोगभन्दा पनि निदान प्रणालीमा आएको सुधार र सचेतनाका कारण बढी देखिएको हो। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अहिलेसम्मकै सबैभन्दा ठूलो समीक्षामा विज्ञहरूले पारासिटामोल र अटिजमबीचको सम्बन्ध के हो भन्ने विषयमा गहिरो अध्ययन गरेका छन्। सो समीक्षामा ४० वटा अध्ययन तथा अघिल्ला नौ वटा व्यवस्थित समीक्षाको विश्लेषण गरिएको थियो।
के भन्छन् विज्ञ ?
अध्ययनकी प्रमुख लेखिका तथा इङ्गल्यान्डस्थित लिभरपूल विश्वविद्यालयकी सल्लाहकार प्रोफेसर शकीला थाङ्गराथिनमका अनुसार हाल उपलब्ध प्रमाणहरूले पारासिटामोल र अटिजमबीच प्रत्यक्ष सम्बन्ध पुष्टि गर्दैनन्।
‘गर्भवती महिलाहरूले बुझ्नुपर्ने कुरा के हो भने अहिलेको वैज्ञानिक प्रमाणले पारासिटामोल सेवनले बच्चामा अटिजम हुन्छ भन्ने कुरा देखाएको छैन,’ उनले भनिन्, ‘यदि गर्भावस्थामा ज्वरो वा दुखाइ कम गर्न पारासिटामोल आवश्यक छ भने त्यसको प्रयोग सुरक्षित मानिन्छ।’
विशेषज्ञहरूका अनुसार गर्भावस्थामा उच्च ज्वरो बच्चाका लागि गम्भीर जोखिम हुन सक्छ। त्यसैले समयमै उपचार आवश्यक हुन्छ र यही उद्देश्यका लागि पारासिटामोल दशकौँदेखि प्रयोग हुँदै आएको छ।
धेरैजसो वैज्ञानिक समीक्षाहरूले गर्भावस्थामा पारासिटामोलको प्रयोग र बच्चाहरूमा अटिजमबीच कुनै सम्बन्ध नदेखाएको निष्कर्ष निकालेका छन्। यद्यपि, केही अध्ययनहरूले यसको प्रयोगप्रति सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्। दुई वटा अध्ययनले भने आनुवंशिक कारण, आमाको स्वास्थ्य अवस्था र चिकित्सा इतिहासजस्ता अन्य कारकहरूको आधारमा बच्चाहरूमा अटिजमको जोखिम बढ्न सक्ने उल्लेख गरेका थिए।
यसैगरी, २० लाखभन्दा बढी स्विडेनी बालबालिकालाई समेटिएको अर्को समीक्षाले गर्भावस्थामा पारासिटामोल सेवन गर्ने आमाहरूका बच्चामा अटिजम तथा ध्यानसम्बन्धी समस्या केही बढी देखिएको पाएको थियो। तर विज्ञहरूका अनुसार त्यस्ता नतिजामा पारासिटामोल मात्र होइन, अन्य धेरै जैविक र वातावरणीय कारकहरू पनि जिम्मेवार हुन सक्छन्।
डाक्टरहरूको टोलीले निष्कर्ष निकाल्दै सुरक्षित मात्रामा प्रयोग गर्दा पारासिटामोल सामान्यतया सुरक्षित भए पनि अत्यधिक र अनियन्त्रित प्रयोग भने जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएको छ।



