धनगढी – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस भएको छ। उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीका अनुसार उपकुलपतिका लागि एक जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। नाम सिफारिस सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनलाई गरिएको छ।
उपकुलपतिका लागि आवेदन कम परेकाले एक मात्र नाम सिफारिस भएको छ। रजिष्ट्रारको लागि १० जनाबाट सात जनालाई अन्तर्वार्तामा डाकिएको थियो र अन्ततः तीन जनाको नाम सिफारिस गरिएको छ। समितिले सिफारिसमा परेको व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन।
उपकुलपतिका लागि आवेदन नपरेपछि समितिले तेस्रो पटक आवेदन आह्वान गरेको थियो। दुई पटक आवेदन नआएपछि शिक्षा मन्त्री पुनले सामाजिक सञ्जालमार्फत पनि आवेदन मागेका थिए। सिफारिस समितिले पहिलो पटक कात्तिक १६ र दोस्रो पटक कात्तिक ३० गते आवेदन आह्वान गरेको थियो। अन्ततः मंसिर २३ गतेसम्म आवेदन पेस गर्ने समय थप गरिएको थियो।
गत असारमा विश्वविद्यालयको ऐन संसदबाट पारित भएपछि सरकारले उपकुलपति र रजिष्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको हो। नियुक्तिपछि विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशमा चिकित्सा पठनपाठन सुरु गर्ने लक्ष्य राखेको छ।







