बर्दिवास- मधेश प्रदेशमा बढ्दै गएको शीतलहरको असर स्वास्थ्य क्षेत्रमा स्पष्ट देखिन थालेको छ। चिसो हावा, बाक्लो हुस्सु र सिरेटो जाडोका कारण बर्दिवास र जलेश्वरस्थित अस्पतालहरूमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ।
जाडोबाट सबैभन्दा बढी वृद्धवृद्धा र नाबालक प्रभावित भएका छन्। बर्दिवास अस्पतालमा हाल चिसोका कारण दैनिक ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।
अस्पतालका चिकित्सक डा. रितेस घिमिरेका अनुसार जाडो बढेसँगै रुघाखोकी र निमोनियाका दैनिक ४० भन्दा बढी बिरामी आउने गरेका छन्। त्यसका साथै दम, श्वासप्रश्वास तथा हाडजोर्नीसम्बन्धी समस्याका ३० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। मुटुसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको उनले बताए।
डा. घिमिरेका अनुसार शीतलहरको मौसम मुटुरोगीका लागि प्रतिकूल हुने भएकाले अहिले दैनिक पाँचदेखि सात जना मुटुका बिरामी अस्पताल आइरहेका छन्।
उता, जलेश्वरस्थित प्रादेशिक अस्पतालमा पनि चिसोबाट हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालका चिकित्सक डा. विकास शाहका अनुसार ज्येष्ठ नागरिकमा रक्तचाप, कठ्याङ्ग्रिने तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढेका छन्। बालबालिकामा भने रुघाखोकी, निमोनिया तथा विभिन्न भाइरल सङ्क्रमण देखिएको छ।
डा. शाहले बताएअनुसार जाडो बढेसँगै जलेश्वर प्रादेशिक अस्पतालको बाहिरंग सेवा (ओपिडी) मा दैनिक ८० देखि ९० जना र आकस्मिक कक्षमा २० देखि २५ जना गरी दैनिक सयभन्दा बढी बिरामी आउने गरेका छन्।
यसैबीच, निःशुल्क औषधीको अभावले बिरामीलाई थप समस्या परेको छ। प्रादेशिक अस्पतालमा निःशुल्क सूचीमा पर्ने औषधीमध्ये करिब ५० प्रतिशत मात्र उपलब्ध रहेको डा. शाहले जनाए। बर्दिवास अस्पतालमा भने हालै औषधी आपूर्ति भएकाले जाडोका बिरामीलाई खासै समस्या नभएको डा. घिमिरेले बताए।
मधेश प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा. राजीव झाका अनुसार शीतलहरका बेला शरीरको तापक्रम अत्यधिक घट्दा ‘हाइपोथरमिया’ हुने जोखिम बढ्छ। यस्तो मौसममा श्वासप्रश्वासको सङ्क्रमण, दम, रुघाखोकी, रक्तचाप बढ्ने, कान दुख्ने तथा विभिन्न भाइरल सङ्क्रमणको जोखिम उच्च हुन्छ।
हाइपोथरमियाबाट जोगिन अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, शरीर न्यानो राख्न तथा झोलिलो र पोसिलो खानपानमा ध्यान दिन डा. झाले सुझाव दिएका छन्।







