
चितवन – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी माननीय मन्त्री डा. सुधा शर्मा गौतमले भरतपुर अस्पताल चितवनमा निर्माण गरिएको ट्रमा सेन्टरको औपचारिक उद्घाटन गरेकी छिन्।
५० शैय्या क्षमताको रूपमा विकास गरिएको ट्रमा सेन्टरमध्ये हाल पहिलो चरणमा १५ शैय्या सञ्चालनमा आइसकेको अस्पतालले जनाएको छ। जटिल दुर्घटना तथा आकस्मिक अवस्थाका बिरामीलाई तत्काल सेवा उपलब्ध गराउने लक्ष्यका साथ सेवाको दायरा विस्तार हुँदै जाने तयारी भएको बताइएको छ।
उद्घाटन कार्यक्रमसंगै मन्त्री शर्मा गौतमले भरतपुर अस्पतालमै स्थापना गरिएको कम्पाउन्डिङ फार्मेसी, ल्याब तथा औषधि सूचना केन्द्रको पनि उद्घाटन गरन्।
अस्पतालका अनुसार नयाँ कम्पाउन्डिङ फार्मेसी ल्याबबाट विशेष आवश्यकता भएका बिरामीको लागि आवश्यक औषधि समयमै उपलब्ध गराउन सकिनेछ। साथै, औषधिसम्बन्धी विभिन्न अध्ययन तथा अनुसन्धान गरिने भएकाले उपचारको प्रभावकारिता र सेवालाई अझ व्यवस्थित बनाउन मद्दत पुग्नेछ।
भरतपुर अस्पतालले ट्रमा व्यवस्थापनदेखि औषधि सेवा सुधारसम्मका योजनालाई प्राथमिकतामा राख्दै आधुनिक स्वास्थ्य सेवा विस्तारतर्फ अग्रसर रहेको जनाएको छ।


