काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले संघीय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका विशिष्ट पदाधिकारीसहित कपिलवस्तु र रूपन्देहीका विभिन्न स्वास्थ्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्।
मातृ मृत्युदर उच्च रहेको लुम्बिनी प्रदेश, विशेषगरी कपिलवस्तु जिल्लामा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि आवश्यक कदम तत्काल चालिने मन्त्री गौतमले स्पष्ट गर्दै लुम्बिनीसहित अन्य प्रदेशमा पनि सुधारका विशेष कार्य शुरुवाकाेरूपमा घोषणा गरेकी छन्।
अनुगमनका क्रममा उनले कपिलवस्तुको लबनी स्वास्थ्य चौकी, पकडी आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टरसहित), बाणगंगा आयुर्वेद औषधालय, शुद्धोधन र मायादेवी गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पताल, हरनामपुर प्राथमिक अस्पताल तथा दोहनीस्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको अवलोकन गरिन्।

त्यसपछि मन्त्री शर्माले रूपन्देहीका महत्त्वपूर्ण स्वास्थ्य संस्थाहरू सैनामैना नगरपालिकास्थित आधारभूत अस्पताल र पदमपाणी प्राकृतिक चिकित्सालयको अनुगमन गरिन्। साथै, प्रादेशिक उपचार सेवाको मुख्य केन्द्र मानिने लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा सेवा विस्तार, गुणस्तर तथा भावी योजनाबारे पदाधिकारीहरूसँग छलफल पनि गरिन्।
संक्रामक रोगको निगरानी तथा निदानात्मक सेवा प्रभावकारी बनाउन रूपन्देहीको तामनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै मन्त्री गौतमले स्थानीय तहका प्रतिनिधि र स्वास्थ्य संस्थाका प्रमुखहरूसँग संक्षिप्त अन्तरक्रियासमेत गरिन्। उनले सुशासन, जवाफदेहिता र नागरिकमैत्री स्वास्थ्य सेवाका लागि स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइन्।
नागरिकको संविधानप्रदत्त मौलिक हकको सुनिश्चिततामा कुनै विकल्प नभएको उल्लेख गर्दै मन्त्री गौतमले स्वास्थ्यकर्मीहरूले गरेका उल्लेखनीय योगदानको प्रशंसा समेत गरिन्।








