काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय घटाउने र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने लक्ष्यसहित ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गरेकी छन्।
मन्त्री मेहताले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सम्झौता गरेकी हुन्।
सम्झौतापछि मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्। उनले अस्पतालमा सरसफाइ तथा स्वच्छता कायम गर्ने, आवश्यकताअनुसार बिरामीलाई समयमै शय्या उपलब्ध गराउने र उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्राथमिकता दिनुपर्ने बताएकी छन्।

त्यस्तै, स्वास्थ्यकर्मीको व्यवहारलाई सेवामैत्री र जिम्मेवार बनाउने, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने तथा संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने विषयलाई पनि सम्झौतामा प्राथमिकता दिइएको छ।
कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्य स्पष्ट गरी स्वास्थ्य सेवामा सुधार ल्याउने तथा बिरामीले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी सेवा प्रवाह प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैगरी, मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि आर्थिक वर्ष २०८३/८४ का लागि १९ वटा संघीय अस्पतालका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका छन्।








