काठमाडौं, १३ कार्तिक । आर्या फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीनवर्षीय सहकार्य सम्झौता गरेको छ। कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सहकार्य अघि बढाइएको हो।
क्रिकेटमार्फत जनस्वास्थ्य सचेतना बढाउनु र खेलकुदलाई स्वस्थ जीवनशैली प्रवर्द्धनसँग जोड्नु सहकार्यको उद्देश्य रहेको कम्पनीले जनाएको छ। एनपीएलमार्फत सर्वसाधारणलाई आधारभूत स्वास्थ्य परीक्षण, परामर्श तथा स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउने कम्पनीको लक्ष्य छ।

सहकार्यअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परीक्षण कक्ष, परामर्श तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने कार्यक्रम समेटिएको छ। खेल हेर्न आउने दर्शकलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने अपेक्षा कम्पनीले गरेको छ।
कम्पनीले खेलाडीलाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ अन्तर्गत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने जनाएको छ। यस्तै, प्रत्येक खेलमा एक दर्शकलाई ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ अन्तर्गत २० हजार रुपैयाँ पुरस्कार दिने कार्यक्रमसमेत रहेको छ।








