विराटनगर । सोसाइटी अफ सर्जन्स अफ नेपालको १५औँ राष्ट्रिय सम्मेलन मोरङको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा हुने भएको छ। ‘एसएसएनकन २०२६’ नाम दिइएको सम्मेलनको मुख्य वैज्ञानिक कार्यक्रम आगामी नोभेम्बर २७ र २८ मा हुनेछ। नोभेम्बर २६ मा पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिने आयोजकले जनाएको छ।

‘शल्यचिकित्सामा उत्कृष्टता अभिवृद्धि : नवप्रवर्तन, प्रविधि र सहकार्य’ विषयमा हुने सम्मेलनमा नेपाल तथा विदेशका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक र प्रशिक्षार्थीबीच ज्ञान तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। शल्यक्रियाका नयाँ प्रविधि, कम चिरफारबाट गरिने उपचार र बिरामीको सेवामा सुधारका विषयमा छलफल हुनेछ।

आयोजकका अनुसार पूर्वसम्मेलन कार्यशालामा इन्डोस्कोपी, कोलोनोस्कोपी तथा पित्तनलीसम्बन्धी उपचार प्रविधि, हर्नियाको शल्यक्रिया र मलद्वारसम्बन्धी रोगको उपचारबारे व्यावहारिक प्रशिक्षण समेटिएको छ। पेटको क्यान्सरको उपचार र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञसँग अन्तरक्रिया पनि राखिएको छ।
सम्मेलनमा अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्र सञ्चालन हुनेछन्। युवासर्जन, आवासीय चिकित्सकको उत्कृष्ट अनुसन्धानपत्र तथा उत्कृष्ट पोस्टरलगायत विधामा पुरस्कार प्रदान गर्ने कार्यक्रमसमेत छ।
आयोजन समितिको अध्यक्ष प्रा. डा. रोहितप्रसाद यादव रहेका छन्। सम्मेलनमार्फत अनुभवी र युवा शल्यचिकित्सकबीच सहकार्य बढाउने तथा नेपालमा शल्यचिकित्सा सेवाका चुनौती र सम्भावनाबारे छलफल गर्ने आयोजकको उद्देश्य छ।







