काठमाडौं १३ कार्तिक । नेपाल औषधि उत्पादक संघ (एप्पोन) अन्तर्गतको क्वालिटी सर्कलले ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक गरेको छ। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको प्रमुख आतिथ्यमा भएको विमोचनसँगै औषधिको गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डबारे प्राविधिक छलफल गरिएको हो।

प्रकाशनमा औषधि परीक्षण, उत्पादनमा प्रयोग हुने सामग्री, प्याकेजिङ र भण्डारण अवधिभर गुणस्तर कायम राख्न आवश्यक प्रणालीसम्बन्धी विषय समेटिएका छन्। इन्डियन फर्माकोपिया २०२६ का व्यवस्था, औषधिमा हुन सक्ने नाइट्रोसामिन अशुद्धताको पहिचान तथा नियन्त्रण र बजारमा पुगेका औषधिको निगरानीबारे पनि सामग्री राखिएका छन्।
कार्यक्रममा डा. गौरव प्रताप सिंह जादौन, आरएस पाल र डा। बृजेश पाण्डेलगायत विज्ञले औषधिको मापदण्ड, घुलनशीलता परीक्षण तथा अशुद्धताको जोखिम व्यवस्थापनबारे प्रस्तुति दिएका थिए। एप्पोन अध्यक्ष विप्लव अधिकारीसहित उद्योगका प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए।


महानिर्देशक भट्टराईले स्वदेशी औषधिको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्ड पालनामा यस्ता प्रकाशन तथा छलफल उपयोगी हुने बताए। क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठले प्रकाशनलाई प्राविधिक ज्ञान, अनुसन्धान र उद्योगको व्यावहारिक अनुभव जोड्ने प्रयासका रूपमा प्रस्तुत गरिन्।
सम्पादक मण्डलमा श्रेष्ठसँगै निष्मा बज्राचार्य, सहज न्यौपाने, आशिष खड्का, कुसुम श्रेष्ठ र ज्योत्सना पोखरेल छन्।








