काठमाडौं, १३ कार्तिक । नेपालमै पहिलोपटक क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन थालेको चितवनको जाइडिन बायोटेक लिमिटेडले आफ्नो सक्रिय औषधीय कच्चा पदार्थ (एपीआई) उत्पादन इकाइका लागि असल उत्पादन अभ्याससम्बन्धी जिएमपी प्रमाणपत्र प्राप्त गरेको छ।
भरतपुर महानगरपालिका–१६, शरणपुरस्थित कम्पनीले नेपाली जडीबुटी लौठसल्लोबाट क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गरी भारतमा समेत निर्यात गर्दै आएको छ। नेपालमै पहिलोपटक कम्पनीले यस्तो उत्पादन सुरु गरेको हो ।
कम्पनीलाई औषधि व्यवस्था विभागले गत अगस्ट २५ र २६ मा गरेको निरीक्षणका आधारमा प्रमाणपत्र जारी गरेको हो। यसको म्याद सन् २०२८ अक्टोबर ८ सम्म रहेको छ।
प्रमाणपत्रमा सक्रिय औषधीय कच्चा पदार्थअन्तर्गत ‘साइटोटक्सिक्स’ वर्ग समेटिएको छ। यसको कार्यक्षेत्रमा उत्पादन, शुद्धीकरण, प्याकिङ, लेबलिङ, गुणस्तर परीक्षण तथा गुणस्तर सुनिश्चिततासम्बन्धी गतिविधि उल्लेख छन्।

औषधिमा रोगविरुद्ध काम गर्ने मुख्य सक्रिय तत्त्वलाई एपीआई भनिन्छ। कम्पनीले क्यान्सर उपचारमा प्रयोग हुने औषधिका यस्ता कच्चा पदार्थ उत्पादनमा ध्यान केन्द्रित गरेको जनाएको छ।
जिएमपी प्रमाणपत्र प्राप्तिलाई कम्पनीले नेपालको औषधि उत्पादन क्षेत्रमा आत्मनिर्भरता बढाउने दिशाको महत्त्वपूर्ण उपलब्धि भनेको छ। स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्ने क्षमता विस्तारले आयातमाथिको निर्भरता घटाउन र औषधिको आपूर्ति प्रणाली बलियो बनाउन योगदान पुग्ने कम्पनीको भनाइ छ।
कम्पनीले यस उपलब्धिमा आफ्नो टोली, व्यवस्थापन र सहकार्य गर्ने सबैको योगदान रहेको उल्लेख गर्दै नेपालको औषधि उत्पादन क्षमता विस्तारमा काम गर्ने प्रतिबद्धता जनाएको छ।








