

काठमाडौं – नेपालमा पहिलोपटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पहिचान गर्न सकिने अत्याधुनिक डायग्नोस्टिक किट ‘एचएलए-डीआर४’ भित्रिएको छ। नेक्सजेन ल्याब सोलुसन प्रालिले चेक रिपब्लिकस्थित ‘हाेला बायाे ल्याब’सँगको सहकार्यमा यो किट नेपाल ल्याएको हो। कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी किटको औपचारिक शुभारम्भ गरेको छ।
नेक्सजेन ल्याब सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार, बाथरोग वा टाइप–१ मधुमेह प्रारम्भिक चरणमै पत्ता लगाउनु उपचारको दृष्टिले अत्यन्त महत्वपूर्ण छ। प्रारम्भिक पहिचान भएपछि रोगले गम्भीर रूप लिनुअघि नै उपचार थाल्न सकिने भएकाले बिरामी दीर्घकालीन जटिलता र महँगा औषधोपचारबाट जोगिन सक्छन्।
आरटी–पीसीआर प्रविधिमा आधारित
नेक्सजेनले भित्र्याएको यो किट अत्याधुनिक आरटी-पिसीआर प्रविधिमा आधारित छ, जसले रोगको सुरुवाती अवस्था पहिचानमा उच्च संवेदनशीलता देखाउँछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अध्ययनअनुसार प्रारम्भिक परीक्षणमा आरटी–पीसीआर प्रविधिले १०० प्रतिशतभन्दा बढी संवेदनशीलता देखाएको उल्लेख गर्दै पाण्डेले यो प्रविधि नेपाल जस्ता देशमा ‘गेम चेन्जर’ सावित हुने दाबी गरे।

यस किटमार्फत बाथरोगसँग सम्बन्धित संक्रमण तथा टाइप–१ मधुमेह विकास हुने सम्भावनाबारे सुरुमै थाहा पाइनेछ। प्रारम्भिक लक्षण पत्ता लागेपछि स्वास्थ्यकर्मीले तत्कालै उपचार विधि सुरु गर्न सक्ने भएकाले रोग नियन्त्रणमा ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ।
नेपालमा किन आवश्यक ?
नेपालमा धेरै बिरामी चिकित्सककहाँ जान ढिलो गर्छन्। रोग गम्भीर अवस्थामा पुगेपछि अस्पतालमा पुग्ने प्रवृत्तिका कारण अंग–अंगमा क्षति भइसकेको हुन्छ र उपचार लामो तथा महँगो हुन्छ।
विशेषगरी बाथरोग र टाइप–१ मधुमेहजस्ता रोगहरू सुरुमै पत्ता नलाग्दा बिरामी जीवनभर औषधिमा आश्रित हुनुपर्ने अवस्था आउँछ। नयाँ किटले भने सुरुवाती चरणमै जोखिम पहिचान गरी समयमै उपचार थाल्न सहयोग पुर्याउने नेक्सजेनको दाबी छ।
पाण्डेका अनुसार, देशभरका अस्पताल र स्वास्थ्य संस्थामा यो सेवा विस्तार गर्ने योजना नेक्सजेनले अघि सारेको छ। “हामीले नेपालमा पहिलोपटक ल्याएको यो प्रविधिमा जनस्वास्थ्यमा क्रान्तिकारी प्रभाव पार्ने सम्भावना छ। भविष्यमा देशका सबै प्रदेशमा यो सेवा सहज उपलब्ध गराइनेछ,” उनले भने।
बाथरोग प्रारम्भिक चरणमै पहिचान हुनुले संक्रमण फैलिन रोकथाममा ठूलो भूमिका खेल्छ। टाइप–१ मधुमेह परीक्षणले इन्सुलिन थेरापी समयमै सुरु गर्न सकिन्छ, जसले जटिलता कम गर्ने वैज्ञानिकहरूको भनाइ छ।
अध्ययनहरूले प्रारम्भिक निदान प्राप्त व्यक्तिको जीवनस्तर उल्लेखनीय रुपमा सुध्रिने देखाएका छन्। नेपालजस्ता क्षेत्रमा जहाँ उपचार खर्च महँगो र पहुँच चुनौतीपूर्ण छ, त्यहाँ यस्तो किट अत्यन्त उपयोगी हुने अपेक्षा छ।
नेक्सजेनले भित्र्याएको यो किटलाई नेपालका स्वास्थ्य विज्ञहरूले ऐतिहासिक उपलब्धि भनेका छन्। विशेषज्ञहरूका अनुसार, बाथरोग नियन्त्रण र टाइप–१ मधुमेह व्यवस्थापनमा यसले दीर्घकालीन प्रभाव पार्नेछ। समुदाय स्तरमा रोग रोकथाम तथा नियन्त्रणमा यो प्रविधि शक्ति बिन्दु सावित हुने स्वास्थ्यकर्मीहरूको निष्कर्ष छ।



