काठमाडौं– आगामी माघमा नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचन हुँदैछ। त्यहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ४ दशकको जीवन, कठिनाइ र संघर्षले आकार लिएको उनको यात्रा अब नेपाली चिकित्सा जगतको एक नयाँ अध्यायतर्फ उन्मुख छ।
डा. रावल हुम्ला जिल्लाको विकट सर्केगाडमा जन्मिएका हुन्। प्राथमिक र माध्यमिक शिक्षा गाउँमै प्राप्त गरेका उनी सानैदेखि अध्ययनशील थिए। कक्षा तीनदेखि एसएलसीसम्म जिल्लामा टपर रहेर प्रखर क्षमताको परिचय दिएका उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस अध्ययन गरेका थिए। त्यसपछि वीर अस्पतालमा एमडी हाडजोर्नी विशेषज्ञको रूपमा प्रशिक्षित भए। साथै पाटन अस्पतालमा अक्सफोर्ड विश्वविद्यालयसँग जोडिएको रिसर्चमा संलग्न भए।
उनको प्रशासनिक यात्रा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिन्छ। ४ वर्षको कार्यकालमा प्रतिष्ठानलाई शैक्षिक र स्वास्थ्य सेवा क्षेत्रमा व्यवस्थित र स्थायित्व प्रदान गर्दै एमबीबीएसदेखि पब्लिक हेल्थ, फार्मेसी, नर्सिङलगायत १६ भन्दा बढी कार्यक्रम सञ्चालनमा ल्याए। त्यहाँ अब ३ सयभन्दा बढी विशेषज्ञ चिकित्सक र ६०० भन्दा बढी कर्मचारी कार्यरत छन्।
डा. रावलले भौगोलिक चुनौती, बजेट अभाव र राजनीतिक अवरोधलाई जित्दै प्रतिष्ठानलाई आधुनिक शिक्षण अस्पताल र डाक्टर उत्पादनको हब बनाएका छन्। विशेष गरी, एमबिबिएस उद्घाटनदेखि ब्लड बैंक, स्किल ल्याब र स्याटेलाइट अस्पताल स्थापना परियोजना कार्यान्वयनमा उनी अग्रसर रहे।

डा. रावलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका छन्। उनले चिकित्सा क्षेत्रका समस्या समाधानका सम्भावनाहरू खोज्ने, बलियो मेडिकल फर्डिनिटीको निर्माण गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने र चिकित्सकबीचको सम्बन्ध बलियो बनाउने लक्ष्य लिएर अघि बढेको बताए। उनले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको आकांक्षालाई सशक्त पुलको रूपमा काममा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
डा. रावलले भने, ‘चिकित्सक संघमा आवश्यक संरचनागत तथा नीतिगत परिवर्तन एउटै व्यक्तिको प्रयासले सम्भव छैन, त्यसका लागि साझा संकल्प र सामूहिक नेतृत्व आवश्यक छ।’
ग्रामीण स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने सपना बोकेका डा. रावलले आफ्नो नेतृत्व क्षमता, व्यवस्थापकीय अनुभव र संगठनात्मक कौशलमार्फत चिकित्सक समुदायमा नयाँ ऊर्जा र विश्वास थप्ने प्रतिवद्धता व्यक्त गरेका छन्।








