विराटनगर- विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालमा गरिएको नाकको शल्यक्रियापछि सुनसरी इटहरी–१ हासपोसाका ७ वर्षीय जेनिस पाठकको दाहिने आँखाको ज्योति गुमिएको घटनाले अभिभावक स्तब्ध भएका छन्। नाकभित्र पलाएको मासु हटाउने सामान्य प्रक्रिया मानिएको सर्जरीले उल्टै बालकको भविष्य अँध्यारो बनाएको परिवारको गुनासो छ।
मंसिर ४ गते नाकको दाहिने प्वालमा पलाएको मासुको उपचार गर्न जेनिसलाई अस्पताल भर्ना गरियो। चिकित्सकको सल्लाहअनुसार मंसिर ५ गते शल्यक्रिया सम्पन्न गरियो। तर भोलिपल्टै अस्पतालले चकित पार्ने गरी हतार–हतार डिस्चार्ज गरेको परिवारको आरोप छ।
शल्यक्रियापछि भेट्न पुगेका आफन्तले जेनिसको दाहिने आँखा भित्र पसेको तथा ज्योति हराएको देखे।
मामा श्रीकृष्ण प्रसाईं भन्छन्, “आँखाको ज्योति गुमिसकेको देखियो। त्यसपछि नै अस्पतालले छिटो–छिटो डिस्चार्ज गरिदियो। हामीलाई भनेका थिए डिपार्टमेन्ट हेडले अप्रेसन गर्छन्, तर पछि थाहा भयो सिकारु डाक्टरले सर्जरी गरेका रहेछन्।”
नोबेलले डिस्चार्ज गरेपछि परिवारले जेनिसलाई विराटनगर आँखा अस्पताल रानीमा लगे। आँखा अस्पतालका चिकित्सकका अनुसार दाहिने आँखाको भित्री भाग नोक्सान भएकाले दृष्टि फर्कने सम्भावना २ प्रतिशतभन्दा कम छ। “हड्डी नै निकालिएको कारण आँखामा गम्भीर चोट लागेको छ,” चिकित्सकहरूको भनाइ छ।
नोबेल शिक्षण अस्पतालसँग प्रतिक्रिया लिन खोज्दा प्रशासन प्रमुखले सम्पर्कमा आउन चाहेनन्। अस्पताल कांग्रेस नेता तथा पूर्व सांसद डा. सुनील शर्मासँग सम्बन्धित रहेको बताइन्छ। शल्यक्रिया गर्ने डा. प्रज्वल श्रेष्ठले भने आँखाको समस्या देखिएको स्वीकार गर्दै पनि लापरबाही नभएको दाबी गरे।
अस्पतालविरुद्ध उजुरी, छानबिन सुरु
लापरबाही भएको दाबी गर्दै श्रीकृष्णले नोबेल शिक्षण अस्पताल, शल्यक्रिया गर्ने डा. प्रज्वल श्रेष्ठ र कविराज बास्तोलालाई कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिए। उजुरीपछि जिल्ला प्रशासनले घटना प्रहरीलाई छानबिनका लागि पठाइसकेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने, “यो विषय अत्यन्त गम्भीर छ। छानबिन भइरहेको छ। प्रहरीको प्रतिवेदन आएपछि मेडिकल काउन्सिलसँग समन्वय गरी कारबाही अघि बढाइन्छ।”








