जनकपुर– नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र नेपाल मेडिकल एशोसिएसन शाखा, जनकपुरको सहयोगमा आयोजित निरन्तर उपचार शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा स्त्रीरोग तथा शल्यकला र टाउको तथा घाँटी सम्बन्धी दुई महत्वपूर्ण केसहरू प्रस्तुत गरिएको थियो। अनुसन्धान केन्द्रका विशेषज्ञ चिकित्सकहरूले प्रस्तुत केसहरूको गहन विश्लेषण, उपचार पद्धति र हालैका बहु-विषयगत अभ्यासबारे सहभागीहरूलाई विस्तृत रूपमा जानकारी गराएका थिए। कार्यक्रममा अनुसन्धान केन्द्रमा अपनाइने समग्र उपचार दृष्टिकोणलाई पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागी अनुसन्धान केन्द्रका ८ विशेषज्ञ चिकित्सकहरू- डा. सुदीप श्रेष्ठ, डा. बिजेश राज घिमिरे, डा. गिसुप निखा प्रासिको, डा. हरि ढकाल, डा. कपेन्द्र शेखर अमात्य, डा. अञ्जु श्रेष्ठ, डा. प्रभात चन्द्र ठाकुर र डा. अमृत कोईरालाले आफ्नो अनुभव र विशेषज्ञता बाँडेका थिए। यसले उपचार शिक्षा कार्यक्रलाई अझै समृद्ध बनाएको आयोजकहरूले बताए।

मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, जनकपुरका प्रा. डा. राम नरेश पण्डितले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रलाई यस्तो सार्थक र प्रभावकारी कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी तथा सहभागीहरूलाई क्यान्सर उपचार, समयमै निदान र सहकार्यपूर्ण उपचार प्रक्रियाबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताए।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले कार्यक्रममा योगदान पुर्याउने सबै चिकित्सक, आयोजक र सहभागीप्रति हार्दिक आभार व्यक्त गरेको छ।








