काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट पारित गरेको हो।

सभामा प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणअनुसार प्रतिष्ठानको चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ रहेको छ। यसमध्ये ३६ करोड ९५ लाख रुपैयाँ सरकारबाट प्राप्त अनुदान हो भने १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ आन्तरिक स्रोतबाट जुटाइने योजना छ। गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख रुपैयाँ पाएको थियो भने आन्तरिक आम्दानी १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै कुलपति तथा प्रधानमन्त्री कार्कीले ५ सय शय्या क्षमतामा सञ्चालित प्रतिष्ठानले उत्कृष्ट विशेषज्ञ स्वास्थ्य सेवा दिंदै आएको बताइन्। अत्याधुनिक उपकरणबाट वार्षिक लाखौँ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै प्रतिष्ठानले देशको भरपर्दो स्वास्थ्य संस्थाको रुपमा पहिचान बनाएको विषय गौरवको भएको उनको भनाइ थियो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २०७२ सालमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिएको हो। हाल स्नातकोत्तर तहका एमडी–एमएस कार्यक्रमअन्तर्गत १३ विभागमा १०० विद्यार्थी अध्ययनरत छन्। तीन ब्याच स्नातक भइसकेका छन्। स्नातक तहका एमबीबीएस, बीएनएस र बीएसस्सी नर्सिङ कार्यक्रममा हाल १७० विद्यार्थी अध्ययनरत छन्।
सभामा सहकुलपति तथा स्वास्थ्यमन्त्री डा. सुधा गौतम, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठसहित सभाका सदस्यहरूको उपस्थिति थियो।







