
काठमाडौं- काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले विभिन्न अस्पतालका क्यान्टिनहरूमा गरेको खाद्य स्वच्छता अनुगमनका क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनलाई सरसफाइमा चरम लापरबाही गरेको भन्दै सात दिनका लागि बन्द गरेको छ।
हेल्दी बाइट्स सर्भिसेज प्रालिद्वारा सञ्चालित उक्त क्यान्टिनमा खाद्य रङको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका वस्तु, अस्वच्छ वातावरण, असन्तोषजनक पेस्ट कन्ट्रोल, र लेबलविहीन खाद्य वस्तु प्रयोग गरिएको पाइएपछि तत्काल बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो।
अनुगमन टोलीका खाद्य प्रविधिज्ञ अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको पाइएको छ। टोलीले म्याद गुज्रिएको दूध सञ्चालककै उपस्थितिमा नष्ट गरेको जनाएको छ।
यस्तै, टोलीले मेडिकेयर अस्पताल र हेल्पिङ ह्याण्ड्स अस्पतालका क्यान्टिनहरूमा पनि सुधारका निर्देशनहरू जारी गरेको छ। मेडिकेयरमा लेबलविहीन वस्तु, खुला डस्टबिन र पानी परीक्षणमा देखिएको कमजोरी सुधार गर्न निर्देशन दिइएको छ भने हेल्पिङ ह्याण्ड्समा आगो नियन्त्रण उपकरण थप बलियो बनाउन र खाद्य रङको उचित प्रयोग गर्न सुझाव दिइएको छ।
महानगरका अनुसार, कानुनअनुसार स्वच्छ र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न अस्पताल, होटल, रेस्टुरेन्ट तथा क्यान्टिनहरूको नियमित अनुगमनलाई थप कडा बनाइनेछ।


