काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको कुटपिट र तोडफोड घटनाप्रति नेपाल चिकित्सक संघले कडा आपत्ति जनाउँदै तत्काल कानुनी कारबाहीको माग गरेको छ।

कार्तिक ८ गते उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो।
संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “उपचारका क्रममा मृत्यु भएको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै, शोकाकुल परिवारमा भगवानले सहनशक्ति प्रदान गरुन्। तर कानुनी बाटो छोडेर स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु र स्वास्थ्य संस्था तोडफोड गर्नु आपराधिक कार्य हो।”

संघले यस्तो घटनाले सम्पूर्ण स्वास्थ्य क्षेत्रको मनोबल गिराउने र सेवा प्रवाहमा असर पार्ने बताउँदै, संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ (संशोधन २०७९) अनुसार कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।
साथै, सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न राज्यले आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि संघको भनाइ छ।







