काठमाडौं- नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ। काउन्सिलका अनुसार २६ असोज दिउँसो २ बजेबाट वेबसाइटमा अनधिकृत पहुँच भएको पाइएको हो।
काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवले वेबसाइट ह्याक भए पनि सबै महत्वपूर्ण डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्।
काउन्सिलले ह्याकिङको अनुसन्धानका लागि साइबर ब्युरोसँग समन्वय गरिरहेको जनाएको छ। डा. देवका अनुसार ब्युरोलाई सम्पूर्ण जानकारी दिइसकिएको छ र फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र नयाँ सर्भरमा काम सुरु गरिनेछ।

उनका अनुसार ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ। आइटी टिमको प्रारम्भिक परीक्षणमा केही फाइलहरू प्रभावित भएको देखिए पनि डेटा परिवर्तन वा सम्पादन नभएको पुष्टि भएको छ।
साइबर ब्युरोले हाल फोरेन्सिक प्रमाणहरूको आधारमा ह्याकिङ घटनाको अनुसन्धान अघि बढाइरहेको छ।








