सिन्धुपाल्चोक – मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्थामाथि संयुक्त अनुगमन गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मंगलबार गरिएको अनुगमनमा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालन भएका विभिन्न स्वास्थ्य संस्था कारबाहीमा परेका छन्।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँका अनुसार अनुगमनका क्रममा कतिपय संस्थाहरूलाई मापदण्डअनुसार सुधार गर्न म्याद दिइएको छ भने केही विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।

उनका अनुसार जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७, बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली २०८१ अनुसार मापदण्ड उल्लङ्घन गर्ने संस्था कारबाहीको दायरामा आउने छन्।
अनुगमन टोलीले मेलम्ची बजारस्थित इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि. र जुगल डेन्टल क्लिनिक लाई पूर्ण रूपमा बन्द गरेको छ। यी दुबै संस्थाले आवश्यक अनुमति र मापदण्ड पूरा नगरी स्वास्थ्य सेवा सञ्चालन गर्दै आएका थिए।

त्यस्तै विगतमा विनायक पोलिक्लिनिक नामबाट सेवा दिँदै आएको तर हाल विनायक फार्मेसीको नाममा सञ्चालित फार्मेसीमा पनि अवैध रूपमा सञ्चालन भइरहेको ल्याब र डेन्टल सेवा तत्काल बन्द गरिएको बजगाईँले बताए।
मेलम्ची पोलिक्लिनिक प्रा.लि.लाई भने नवीकरणका लागि आवश्यक कागजी प्रक्रिया र मापदण्ड अधुरो रहेको भन्दै ३० दिनको म्याद दिइएको छ।
अनुगमनका क्रममा शिव शक्ति स्वास्थ्य क्लिनिक मा मापदण्ड विपरीत सञ्चालन भइरहेको ल्याब र एक्स–रे सेवा बन्द गरिनुका साथै केही शंकास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको जनाइएको छ।







