काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय र बेवारिसे नागरिकलगायत निःशुल्क उपचार पाउने लक्षित वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ।
महानगरले लक्षित वर्गका बिरामीले उपचारमा सहजता पाउन र सेवा प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्न लागेको हो।
यसका लागि आज काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख दीपक केसी र वीर अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ। कक्षमा नर्सिङ विषय अध्ययन गरेका तीन जना जनशक्ति करार सेवामा नियुक्त गरिनेछ। ती जनशक्तिको पारिश्रमिक काठमाडौँ महानगरपालिकाले व्यहोर्नेछ।
महानगरका स्वास्थ्य विभाग प्रमुख केसीका अनुसार उक्त कक्षमार्फत कामपाको अनलाइन प्रणालीद्वारा उपचारका लागि आएका लक्षित वर्गका बिरामीहरूलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पठाउने व्यवस्था हुनेछ।
काठमाडौँ महानगरपालिकाले २०८० साल फागुन १ गतेदेखि विपन्न तथा लक्षित वर्गका लागि निःशुल्क उपचार सेवा सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत देशका जुनसुकै स्थानका नागरिकले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार पाउन सक्छन्।

महानगरले सेवा प्राप्त गर्नका लागि तीन विधि तोकेको छ। प्रथम, विपन्न परिचयपत्र भएका व्यक्तिले सिधैँ अस्पतालमा पुगेर सेवा लिन सक्छन्।
दोस्रो, विपन्न परिचयपत्र नभएका तर आफू बसोबास गरेको वडाबाट तोकिएको ढाँचामा सिफारिस र सर्जमिन मुचुल्का लिएर जानेहरूले पनि सेवा पाउनेछन्।
तेस्रो, यी दुवै कागजात लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाणसहित काठमाडौँ महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन्।
हालसम्म यस प्रणालीमार्फत हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशा, पित्तथैली र मिर्गौलामा पत्थरी, हाडजोर्नी समस्या, नाक–कान–घाँटीका शल्यक्रियाजस्ता उपचारका बिरामीहरूले निःशुल्क अपरेसन सेवा पाएका छन्।
यस्तै, जटिल प्रकारका मधुमेह, मिर्गौला, क्षयरोग, उच्च रक्तचाप, दम, कलेजोको दीर्घ रोग, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायु सम्बन्धी समस्या, श्वासप्रश्वास, मूत्र प्रणाली र पिसाबसम्बन्धी रोगको पनि निःशुल्क उपचार भइरहेको महानगरले जनाएको छ।
कामपाको यो प्रणालीमा हाल निजी क्षेत्रका ५३ वटा अस्पतालका ३८० श्यया आबद्ध छन्।








