
काठमाडौँ- अनुहारमा अचानक देखिने कालो धब्बालाई सामान्यतया चायापोतो भनिन्छ। धेरैका लागि याे केवल सौन्दर्यको समस्या हो भन्ने लाग्छ। तर चिकित्सकहरूका अनुसार यो केवल बाहिरी परिवर्तन होइन, शरीरभित्रका हर्मोन, सूर्यको किरण र जीवनशैलीसँग जोडिएको गहिरो समस्या हो।
डिआइ स्किन हस्पिटलकी कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. सूचना मरहठ्ठा भन्छिन्, ‘चायापोतो अर्थात् मेलाज्मा प्रायः महिलामा देखिन्छ, त्यसमा पनि गर्भवती महिलामा बढी। हर्मोन परिवर्तन हुने बेला यसको सम्भावना बढ्छ। तर करिब १० देखि २० प्रतिशत पुरुषहरूमा पनि यो समस्या देखिन्छ।’ उनले चाँयापोतो पत्ता लगाउन सजिलो तर उपचार गर्न भने कठिन हुने बताइन्।
यो समस्या मुख्यतः गाला, निधार र चिउडोमा देखिन्छ। कहिलेकाहीँ घाम लाग्ने भाग जस्तै घाँटी वा नाकको वरिपरि पनि प्रभावित हुन्छ। दक्षिण एसियाका देशहरूमा बढी देखिनुको कारण छालाको संरचना र सूर्यको यूभी किरण मुख्य कारण हाे।
डा. मरहठ्ठा भन्छिन्, ‘हामीले फेसबुक, टिकटक वा युट्युबमा देखेका विज्ञापन हेरेर जथाभावी औषधि वा क्रिम प्रयोग गर्छौं। बिना चिकित्सकको सल्लाह यस्तो प्रयोगले उल्टै छालालाई बिगार्छ र चायापोतो झन् गाढा बनाउँछ।’
किन हुन्छ चायापोतो ?
डाक्टरका अनुसार चायापोतोका मुख्य कारणहरू यसप्रकार छन् –
-वंशाणुगत (जिनेटिक) प्रभाव: करिब ३०–५० प्रतिशतमा यही कारण।
-घामको किरण (यूभी रे): लामो समय घाममा रहँदा।
-गर्भावस्थामा हुने हर्मोन परिवर्तन।
-जथाभावी कस्मेटिक प्रयोग।
-रक्तचाप, सुगर वा दुखाइका औषधिको असर।
-थाइराइड रोगमा हुने हर्मोनल असन्तुलन।
-गर्भनिरोधक पिल्स।
-छालामा अत्यधिक तातोपना वा रासायनिक प्रतिक्रिया।
सावधानी र उपचार
-बाहिर निस्कनु अघि ३० मिनेटअघि सनस्क्रिन लगाउने।
-३–३ घण्टामा पुनः सनस्क्रिन लगाउने।
-घरमा बसेर पनि मोबाइल वा ल्यापटपको स्क्रिनबाट बच्न सनस्क्रिन प्रयोग गर्ने।
-छाता, टोपी, मास्क र चस्मा अनिवार्य प्रयोग गर्ने।
-हल्का फेसवासले अनुहार सफा राख्ने।
-ब्लिच वा अत्यधिक फेस प्याक प्रयोग नगर्ने।
-अस्पतालमा गएर थेरापी वा लेजर उपचार लिन सकिने।
-उपचार गर्नुपरेमा छाला विशेषज्ञको सल्लाह लिएर मात्र औषधि वा फेस प्रडक्ट प्रयोग गर्ने।
जीवनशैलीमा सुधार आवश्यक
डा. मरहठ्ठाका अनुसार चायापोतो नियन्त्रणमा ल्याउन दैनिक जीवनशैली परिवर्तन अत्यन्तै प्रभावकारी हुन्छ।
त्यसका लागि:
-ब्यालेन्स डाइटमा ध्यान दिने।
-काँचो फलफूल तथा एन्टी–अक्सिडेन्टयुक्त तरकारी सेवन गर्ने।
-तनाव नलिने।
-नियमित व्यायाम गर्ने।
-पर्याप्त निन्द्रा पुर्याउने।
यदि समस्या बढ्दै गएको छ भने छाला रोग विशेषज्ञसँग परामर्श गरी मात्र औषधि वा फेस प्रडक्ट प्रयोग गर्नुपर्ने उनी सुझाव दिन्छिन्। गम्भीर अवस्थामा अस्पतालमा थेरापी वा लेजर ट्रीटमेन्ट पनि प्रभावकारी हुने उनले बताइन्। उनले भनिन्, ‘हामीले प्रयास गर्यौं भने चायापोतो नियन्त्रणमा ल्याउन सकिन्छ, तर यसका लागि धैर्य र निरन्तरता चाहिन्छ।’


