वीरगन्ज – डेढ महिनाअघि फैलिएको हैजाको महामारी नियन्त्रण र पुनः संक्रमण रोकथामका लागि पर्सा जिल्लाका सबै १४ वटै पालिकामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई खोप खुवाएर अभियानको औपचारिक सुरुवात गरिएको हो।

खोप अभियानको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी परीक्षक पुरनचन्द्र भट्टलगायतले पनि खोप लगाएका थिए।
गत भदौ ६ गते वीरगन्ज महानगरमा पहिलोपटक ३ जना झाडापखालाका बिरामीमा हैजा पुष्टि भएपछि सो क्षेत्र प्रभावित बनेको थियो। असोज २३ गतेसम्म वीरगन्जका विभिन्न अस्पतालमा जम्मा १,५६७ जना झाडापखाला र हैजाका बिरामी उपचारका लागि पुगेका थिए, जसमा २४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार हाल अस्पतालमा हैजाको संक्रमण पुष्टि भएका बिरामी उपचाररत छैनन्, तर दैनिक ४–५ जना झाडापखालाका बिरामी उपचारका लागि आइरहेका छन्।

हैजाको प्रकोप अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि खोप अभियान सञ्चालन गरेको हो।
यो खोप अभियान कात्तिक २ गतेसम्म चल्नेछ। अभियानअन्तर्गत जिल्लाभरका १ वर्षमाथिका ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप दिने लक्ष्य राखिएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।
उनका अनुसार जिल्लाका सबै १४ वटै पालिका, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, विद्यालय, कलेज, उद्योग, धार्मिकस्थल, बसपार्क, नेपाल–भारत सीमा नाका लगायत स्थानहरूमा खोप केन्द्र स्थापना गरिएको छ।
त्यस्तै, पर्साको छिमेकी जिल्ला बारामा सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। पर्साको वीरगन्जसँग सीमा जोडिएका कलैया र जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका गरी ६ वटै पालिकामा सोमबारदेखि खोप अभियान सञ्चालन गरिने तयारी भएको छ।







