
काठमाडाैं- एमआरआई र सिटीस्क्यान गर्दा प्रयोग हुने ‘कन्ट्रास मिडिया इन्जेक्सन’को चरम अभाव नेपाली बजारमा देखिन थालेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णयसँगै आयातकर्ताले ल्याएका सामग्री भन्सारमा अड्किएर अभाव सिर्जना भएको हो।
यो औषधि औषधि व्यवस्था विभागले अत्यावश्यक औषधिको सूचीमा राखेको स्वास्थ्य सामग्री हो। यसअघि आयात गर्दा ५ प्रतिशत भन्सार महसुल मात्र तिर्ने प्रावधान थियो। तर, आर्थिक विधेयक २०८१ अनुसार भ्याट थपिएपछि समस्या उत्पन्न भएको हो।
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार, अहिले बजारमा केही दिन पुग्ने मात्र स्टक छ। “भन्सारमा अड्किएको सामग्री ल्याउन नसके आगामी एक सातामै बजारमा अभाव हुने पक्का छ,” उनले भने।
उनका अनुसार कन्ट्रास मिडिया इन्जेक्सन आयात गर्ने तीन मात्र आयातकर्ता छन्, र सबैले स्टक सकिएको भन्दै हात उठाइसकेका छन्। उनले भने, “कन्ट्रास मिडिया इन्जेक्सनमा भ्याट लगाउने भन्दै बजेटमा समावेश भयो। अत्यावश्यक औषधिको रुपमा राखेको छ सरकारले। कुनै बिरामीलाई उपचार गर्न सुरुमा सिटी स्क्यान, एमआरआइ, डाइगोनिस स्टिम छ, त्यसमा प्रयोग हुने औषधि हो। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राज्यले यसमा भ्याट जोडेको छ।”
आचार्यका अनुसार उनले यस विषयमा सम्बन्धित निकायसँग पटक–पटक कुरा गरेका छन्। “सुरूमा अर्थमन्त्री विष्णु सापकोटालाई भेटेर भनेको थिए, महानिर्देशकलाई भेटेर भने। त्यसपछि पूर्व अर्थमन्त्री प्रकाशशरण महतलाई भनेपछि उहाँले संसदमा बोल्नु भएकाे थियाे। तर, समस्याबारे सुनुवाई भएन। साउन १ गतेदेखि भ्याट लागू भयो।”
“हामी आयातकर्ताहरुले आयात प्रक्रियामा कुनै कमजोरी गरेका छैनौं। त्रिभुवन विमानस्थल, विभिन्न भन्सार कार्यालयमा लगायत औषधिहरु अडकिएर बसेको छ। कन्ट्रास मिडिया इन्जेक्सन आयात गर्ने ३ जना मात्रै आयातकर्ता छन्। उहाँहरुले निवेदन नै दिएर हामीसँग स्टक छैन भनेर हात खडा गरिसक्नु भएको छ” उनले थपे।
यो औषधि ठूलो व्यापार नहुने तर नभई नहुने सामग्री भएको आचार्यको भनाइ छ। “औषधि अर्थ मन्त्रालयमा संवेदनशिल नबुझ्ने व्यक्ति छन्। औषधि देख्ने बित्तिकै त्यहाँ भ्याट नलेख्नु पर्ने हो। ठूला अस्पताल र डाइगोनिस सेन्टर बाहेक होलसेलरहरुमा एक हप्तादिनलाई मात्रै स्टक छ” उनले भने।
समस्याबारे स्वास्थ्य मन्त्री र सचिवलाई जानकारी गराउँदा पनि दुवैले अनविज्ञता प्रकट गरेको आचार्यले बताए। “यो बारेमा स्वास्थ्य मन्त्री र सचिवलाई यो समस्याबारे भन्दा दुवैले औषधि व्यवस्था विभागले पठाएको पत्रका बारेमा अनविज्ञता प्रकट गरे” उनले भने।
“भोलि औषधिको अभाव भएर सिटी स्क्यान र एमआरआइ गर्न नपाएर बिरामीको स्वास्थ्यमा तलमाथि भयो भने त्यसको जिम्मेवारी कसले लिने ?” उनले चेतावनी दिँदै भने , “यो हाम्रो नियन्त्रणभन्दा बाहिर जानसक्छ, त्यसैले यो समस्याको हल गर्न तत्काल प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्य मन्त्रीलाई आग्रह गर्छु।”


![भ्याटको कारण ‘कन्ट्रास मिडिया इन्जेक्सन’ अभाव, एमआरआई–सिटीस्क्यान सेवा संकटमा [भिडियाे]](https://swasthyadiary.com/wp-content/uploads/2025/08/Iodine_Contrast_LOW_RES_CT_Aquilion_one_CDH_Staff_DF.webp)