

काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र बन्दै गइरहेका बेला अध्यक्ष पदका दुई प्रमुख आकांक्षीले विप्लव अधिकारीको पक्षमा समर्थन जनाएका छन्।
हालका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटा र उपाध्यक्ष सन्तोष बरालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने क्रममा विप्लव अधिकारीको प्रस्तावक र समर्थक बनेर उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्ष पदमा विप्लव अधिकारीसँगै पूर्वअध्यक्ष दिपक प्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन्। यसरी अध्यक्ष पदका लागि प्रतिस्पर्धा दुई जनाबीच सिमित भएको हो।
विप्लव अधिकारी संघको एक कार्यकाल सदस्य र दुई कार्यकाल महासचिवको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन्। उनी अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए। तर, नेतृत्वमा नहुँदा पनि उनले संघमा निरन्तर सक्रियता देखाएको दाबी गर्दै आएका छन्। दाहाल भने संघका पूर्वअध्यक्ष हुन् र अनुभवी उम्मेदवारको रूपमा चिनिन्छन्।
हाल अध्यक्ष पदका उम्मेदवारहरूबीच सहमतिबाट नेतृत्व चयन गर्न पहल भइरहेको स्रोतले जनाएको छ। यदि सहमति जुटेमा यसपटकको निर्वाचन सर्वसम्मत रूपमा टुंगिन सक्ने सम्भावना पनि देखिएको छ।
निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली भोलि बिहान साढे ११ बजे प्रकाशित हुनेछ। मतदान भने दिउँसो १ बजेबाट ३ बजेसम्म हुने छ।
मतदान सकिएपछि तुरुन्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ। समितिमा संघका पूर्वअध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवक्ता रमेश प्रसाद धिताल सदस्य रहेका छन्।



