

लुम्बिनी प्रदेश- लुम्बिनी प्रदेशभरका संघीय, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा एन्टि–रेबिज भ्याक्सिनको चरम अभाव देखिएको छ। कुकुर, बाँदर, स्याललगायतका जनावरले टोकेपछि प्रयोग गरिने रेबिज विरुद्धको यो खोप केही सातादेखि उपलब्ध नहुँदा बिरामीहरू उपचार नपाएर अस्पतालबाट फर्कन बाध्य भएका छन्।
लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलका निमित्त निर्देशक डा. राजेन्द्रकुमार गिरीका अनुसार प्रदेशभरका अस्पतालहरूलाई वितरण गर्ने मौज्दात अहिले शून्य अवस्थामा पुगेको छ।
उनका अनुसार, नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ७० हजार ५ सय भायल भ्याक्सिनको कोटा दिएको थियो। तर, तीमध्ये ३३ हजार मात्र प्राप्त भएकाले अभावको अवस्था सिर्जना भएको हो।
‘करिब एक महिनादेखि भ्याक्सिन छैन, आपतकालीन अवस्था बाहेक अस्पतालहरूलाई केही पनि दिन नसकिएको अवस्था छ,’ डा. गिरीले भने, ‘प्रदेश सरकारलाई जानकारी गराइसकेका छौं तर खरिद अधिकार केन्द्रमै भएकाले प्रदेशले धेरै गर्न सक्दैन।’
प्रदेशका ७० स्वास्थ्य संस्थामा वितरण हुँदै आएको यो भ्याक्सिन अभाव भएपछि विभिन्न जिल्लाबाट दैनिक रूपमा माग आइरहेको छ। तर केन्द्रले गाडी लिएर आएका अस्पतालका प्रतिनिधिहरूलाई रित्तै फर्काउन बाध्य हुनुपरेको जानकारी दिएको छ।



