

काठमाडौं- देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चालू आर्थिक वर्षमा हालसम्म ७३ जिल्लामा एक हजार ३६० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। महाशाखाअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले पुसयता लगातार संक्रमितको संख्या बढिरहेको बताए।
सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा ३४८, कोशीमा २८२ र गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ। त्यस्तै, लुम्बिनीमा २१५, सुदूरपश्चिममा १७४, कर्णालीमा ३२ र मधेश प्रदेशमा १८ जनामा डेंगु संक्रमण देखिएको छ।
काठमाडौँमा सबैभन्दा बढी १४० जना संक्रमित भेटिएका छन्। कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६०, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६, भक्तपुरमा ३० जनामा संक्रमण देखिएको तथ्यांक छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुको संक्रमण विस्तारै तीव्र बन्दै गएको छ। “लामखुट्टे देखा पर्न थालेका छन्, अब केही दिनमै संक्रमणको दर तीव्र गतिमा बढ्न सक्छ,” डा. पुनले चेतावनी दिए।
उनका अनुसार एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको स्थानमा हुर्किन्छन्, जसले दिनको समयमा टोक्ने गर्छ। डेंगु रोग फैलिन नदिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने प्रमुख उपाय हो।
डा. पुनका अनुसार डेंगुका लक्षणमा उच्च ज्वरो, जोर्नी तथा मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, वाकवाकी वा वान्ता हुने, शरीरमा राता बिमिरा देखिनु आदि पर्छन्। गम्भीर अवस्थामा गिजाबाट रगत बग्ने, लगातार वान्ता हुने, अत्याधिक पेट दुख्ने, डाइरिया, छटपटी हुने, चिडचिडापन, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिन्छन्।
डेंगु संक्रमणको उपचार लक्षणको आधारमा गरिन्छ। धेरैजसो अवस्थामा घरमै विश्राम र चिकित्सकको सल्लाह अनुसार प्यारासिटामोल सेवन गर्दा सुधार हुन्छ। डा. पुनले ब्रोफिन वा एन्टिबायोटिक औषधि नखान सुझाएका छन्। गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पताल जानु पर्ने उनले चेतावनी दिएका छन्।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घ रोगी र वृद्धवृद्धा डेंगुको उच्च जोखिममा पर्ने चिकित्सकहरूको भनाइ छ। यस्ता व्यक्तिमा डेंगु संक्रमण भएमा गम्भीर लक्षण देखिने सम्भावना उच्च हुन्छ।


