

सुर्खेत – एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा भविश्यमा यसको गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको हो ।
एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउने र त्यसले गर्दा औषधीले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने उनीहरुको भनाइ छ ।
चिकित्सकहरुका अनुसार अहिले कर्णालीमा एन्टिबायोटिक लिने बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्ने तथ्यले देखाएको छ । विश्वस्वास्थ्य सङ्गठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले आफ्नो प्रस्तुति राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रुपले प्रभावित रहेको बताए ।
उनले सन् २०१९ मा गरिएको अध्ययन प्रस्तुत गर्दै एन्टिमाइक्रोबियल औषधीको प्रयोगका कारण प्रत्यक्ष रूपमा छ हजार ४०० र अप्रत्यक्ष रुपमा २३ हजार २०० मृत्यु भएको बताए ।
मानिस, जनावर र बोटबिरुवामा एन्टिबायोटिक्सको अत्यधिक प्रयोगप्रति जैविक प्रतिरोधी रोगको वृद्धि हुनुका मुख्य कारण रहेको उनको भनाइ छ । उनले भने, “बहुऔषधी प्रतिरोध भएका विश्वका ३० मुलुकमध्ये नेपाल पनि एक हो, राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ अनुसार सबैभन्दा बढी मृत्यु गराउने सङ्क्रामक रोगमा श्वासप्रश्वास क्षयरोग, टाइफाइडजन्य सङ्क्रमण रहेका छन् ।”
कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डा केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिनेहरु बढ्दै गएका छन् । सामान्य रोगका लागि एन्टिबायोटिक औषधीको प्रयोग हुने गरेको उनको भनाइ छ ।
“बिहानदेखि बेलुकीसम्म एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ”, उनले भने,“यो विषय अब स्वास्थ्य क्षेत्रको मात्रै रहेन, यो व्यापक छलफल र बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ, हामीमात्रै होइन, सबै नागरिक सचेत हुन जरुरी छ ।”
औषधी पसलमा डाक्टरको सिफारिसबिना रोगको पहिचान नै नगरी एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको उनको भनाइ छ । रोगको पहिचानबिना त्यस्ता औषधी प्रयोग गर्न नहुने उनको सुझाव छ । चिकित्सकले भनेर नहुने भन्दै यो स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले सबैको सरोकार हुनुपर्ने सुझाव उनको छ ।
कर्णाली प्रदेश अस्पतालमै कार्यरत डा सुजन सापकोटाले पनि एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहुन्न भने पनि यसको प्रयोग बढ्दो भएको भन्दै नियमन आवश्यक रहेको औँल्याए ।



