

रौतहट- रौतहटको राजपुर नगरपालिका–४ मा अवैध रूपमा सञ्चालन भइरहेको औषधि पसल अनुगमन गर्न गएका औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जका कर्मचारीमाथि स्थानीयले कुटपिट गरेका छन्। फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका छन्।
स्रोतका अनुसार विभागमा दर्ता नगरी औषधि बिक्री गरेको उजुरीका आधारमा अनुगमन टोली गएको थियो। टोलीमाथि स्थानीय महिला र पुरुषको समूहले लखेटी कुटपिट गरेपछि घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ। भीडले सरकारी कागजात खोसेको र प्रहरी निरीक्षक रुद्रराज कँडेलको मोबाइलसमेत तोडफोड गरिएको जनाइएको छ।
घाइते अधिकारीहरूलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताएका छन्।
स्रोतले औषधि पसलका सञ्चालक नेक महम्मद र उनका दाजुभाइबीचको पारिवारिक विवादका कारण उजुरी परेको र यसकै आधारमा विभागको टोली पुगेको बताएको छ।
स्थानीयहरूले विभाग साना पसललाई मात्र निशाना बनाउने, ठूला मेडिकल व्यवसायीसँग मिलेमतो हुने गरेको आरोप पनि लगाएका छन्।



