

काठमाडौं, २० बैशाख । आँखा रोग विशेषज्ञहरुको छाता संस्था नेपाल अफ्थाल्मिक सोसाइटीले मिट एण्ड ग्रिट कार्यक्रमको आयोजना गरेको छ । सोसाइटीको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा शनिवार आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, नेपाल चिकित्सक संघका पदाधिकारीहरु एवं सोसाइटीका पदाधिकारी र राजधानीमा उपलब्ध सदस्य चिकित्सक सहभागी भएका थिए । सो अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदानका साथै क्यालेन्डर विमोचन सम्पन्न भएको छ ।

संघमा आवद्ध आँखा विशेषज्ञहरुको भेट सम्मेलनहरुमा मात्र हुने गरेको भन्दै नियमित भेटघाटको परम्परा सुरु गरेको संघका महासचिव डा. तेजसु सिंह मल्ले बताए । यसअघि यस्तो प्रचलन थिएन । यो नयाँ सुरुवात हो । डा. मल्लले बताए । सोसाइटीका अध्यक्ष डा. पुरुषोत्तम जोशीले भविष्यमा यस्ता कार्यक्रम र अन्तर्क्रियालाई बढाउँदै लैजाने बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले नेपाल चिकित्सक संघका अभियानहरुमा नेपाल अफ्थाल्मिक सोसाइटीले सदैब साथ दिएको स्मरण गर्दै भविष्यमा दुवै संस्थाले सहकार्य गर्दै चिकित्सकहरुको हितमा काम गर्ने बताए । सो अवसरमा डा. कार्कीले सोसाइटीलाई सहयोग र चन्दा दिने चिकित्सक एवं दाताहरुको नामअंकित शिलापत्र पनि उद्घाटन गरे ।

सोसाइटीका पूर्व अध्यक्ष एवं पहिलो पुस्ताका आँखा विशेषज्ञ डा. ओके मल्लले आफुहरुले दुःखका बेलामा खोलेको संस्थाले प्रगति गरेको भन्दै खुशी व्यक्त गरे । आँखा उपचारमा सक्रिय रहेका र सोसाइटीमा आवद्ध सबै सदस्यहरुलाई उनले बधाइ दिए । कार्यक्रमा सोसाइटीका पूर्व अध्यक्षहरु डा. ओके मल्ल, डा. बिके मल्ल, डा. जीवनराम श्रेष्ठ, डा. डीएन साह, डा. रिता गुरुङ्ग, डा. रोहित सैंजु, डा. मिनु चौधरी लगायत सहभागी भएका थिए ।

साथै, नेपाल अफ्थाल्मिक सोसाइटीको भातृ संस्था योङ्ग अफ्थाल्मोलोजिष्ट (वाइओ)को नयाँ कार्यसमिति पनि चयन गरिएको छ । डा. कौशल पोखरेलको नेतृत्वमा रहेको संस्थाको दोश्रो कार्यकालका लागि डा. अमित यादवलाई चयन गरिएको छ । डा. यादवलाई डा. पोखरेलले संस्थाको नेतृत्व हस्तान्तरण गरेका छन् । नेपाल अफ्थाल्मिक सोसाइटी अन्तर्गत रहेको विभिन्न सातवटा भातृ संस्थामध्ये योङ्ग अफ्थाल्मोलोजिष्ट (वाइओ) एउटा रहेको छ ।




