

काठमाडौं- सरकारले गर्भवती, सुत्केरी र किशोरीहरूलाई निःशुल्क वितरण गर्दै आएको आइरन चक्की केही संघ, प्रदेश र स्थानीय तहमा अभाव भएको छ। दुई महिनादेखि कतिपय क्षेत्रमा आइरन चक्की आपूर्ति नहुँदा लक्षित वर्ग प्रभावित भएका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले केही स्थानीय तहबाट आइरन चक्कीको अभाव भएको गुनासो आएको बताए। “धेरैजसो ठाउँमा नियमित वितरण भइरहेको भए पनि केही स्थानीय तहमा अभावको समस्या देखिएको छ,” उनले भने। “यस्ता क्षेत्रमा वैकल्पिक व्यवस्था गर्न मन्त्रालयबाट पहल भइरहेको छ।”
उनका अनुसार अघिल्ला वर्षहरूमा प्रदेशले आइरन चक्की खरिद गरेर स्थानीय तहमा वितरण गर्दै आएको थियो। संघले पनि दुई वर्ष टिक्ने आइरन चक्की वितरण गरेको थियो। तर हाल केही ठाउँमा आपूर्ति नपुगेको देखिएको छ।
कतिपय स्थानीय तहले आफ्नै स्रोतबाट आइरन चक्की खरिद गरेर वितरण गरिरहेका छन्। पोषण शाखाका प्रमुख लीलाबिक्रम थापाका अनुसार केही आइरन चक्कीको म्याद सकिएकोले पनि अभाव भएको हो। उनले यो वर्ष धेरै स्थानीय तहले स्वस्फूर्त रूपमा चक्की खरिद गरेर वितरण गरेको र आगामी वर्षका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
थापाका अनुसार नयाँ व्यवस्थाअनुसार अब स्थानीय तहले आवश्यकतानुसार आफैं खरिद गर्न सक्ने कानुनी प्रक्रिया अघि बढाइएको छ।
सरकारले गर्भवती, सुत्केरी महिलाहरूका साथै विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत किशोरीहरूलाई पनि नियमित रूपमा आइरन चक्की वितरण गर्दै आएको छ।
चिकित्सकहरूका अनुसार आइरन शरीरमा हेमोग्लोबिन बनाउन अत्यावश्यक तत्व हो। गर्भावस्थामा र सुत्केरीपछिको अवस्थामा रगतमा हेमोग्लोबिनको मात्रा घट्न नदिन आइरन चक्की दिइन्छ। सामान्यतया महिलामा १३ ग्राम प्रति डेसिलिटर हेमोग्लोबिन आवश्यक हुन्छ।