
काठमाडौं, १० बैशाख । आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब बराबरको निर्वाह भत्ता कार्यान्वयन गराउन दबाब दिन नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले बिहीबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएको हो।
संघका अध्यक्ष डा। अनिलविक्रम कार्कीले आगामी वैशाख ११ गते बिहान १० बजेदेखि १२ बजेसम्म उपत्यकाका चिकित्सकहरूलाई माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न र अन्य जिल्लाका चिकित्सकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय घेराउ गर्न आग्रह गरेका छन्।
संघले सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदै यदि मागहरू तत्काल सम्बोधन भएनन् भने वैशाख १२ गतेदेखि आकस्मिक र सघन उपचार सेवा बाहेक देशभरका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ।
‘चिकित्सकहरूको आत्मसम्मानको संरक्षणका लागि सुरू गरिएको यस आन्दोलनमा देशभरका नागरिक, नागरिक समाज, पेशागत संघसंस्था, बुद्धिजीवी, पत्रकार लगायत सबैको साथ र समर्थनको अपेक्षा छ ।’ अध्यक्ष डा. कार्कीले भने।
संघले विगत २८ दिनदेखि लगातार माग राखिँदै आएको भए पनि सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनको निर्णय लिएको स्पष्ट पारेको छ।
चिकित्सा शिक्षा आयोगको १६औं पूर्ण बैठकले आवासीय चिकित्सकलाई मासिक रु ४८,७३७ बराबरको भत्ता दिने निर्णय गरेको थियो। तर उक्त निर्णय भूतपूर्व रूपमा लागू नहुने भन्दै निजी मेडिकल कलेजहरूले कार्यान्वयन गर्न अस्वीकार गरिरहेका छन्।
एशोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले बुधवार दिउसो पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगको १८ औं बैठकले बनाएको कार्यदलमा केन्द्रित हुन सबै पक्षलाई आह्वान गरेको थियो । एशोसियसनले सरकारले तोकेको निर्वाहभत्ता दिन कलेज तयार रहेको तर, त्यसको निम्ति स्रोत सुनिश्चित गर्न कलेजको सिटसंख्या र शुल्क पुनरावलोकन गर्न सरकारलाई पहल गरिरहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैशाख ३ गते बसेको आयोगको पूर्ण बैठकले शिक्ष सचिव दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएर सुझाव र राय दिन भनेको छ । तर, कार्यदलको म्याद सकिने दिन नजिकै आउँदा कार्यदलको सदस्य रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले आन्दोलनको घोषणा गरेका छन् ।
चिकित्सा शास्त्रको स्नातकोत्तर तहका विद्यार्थीलाई दिइने निर्वाहभत्तालाई लिएर सुरु भएको नेपाल चिकित्सक संघ र एशोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज एशोसियसनबीचको द्वन्द्व सतहमा आएको छ ।
यस्तो छ संघको विज्ञप्ति





