

काठमाडौं – नेपाली औषधि उद्योगले आर्थिक वर्ष २०८०/८१ मा ३५ अर्ब २० करोड रुपैयाँको बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा १९ दशमलव ८९ प्रतिशतको उल्लेखनीय वृद्धि गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममार्फत नेपाल औषधि उत्पादक संघ (एपोन) का पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्षले २०८०/८१ को बिक्रीसम्बन्धी सार्वजनिक गरेकाे तथ्यांकले उक्त वृद्धिदर देखाएको हो ।
कार्यक्रममा एपोनका उपाध्यक्ष सन्तोष बराल, कोषाध्यक्ष पृथ्वी राज भण्डारी, कार्यसमिति सदस्यहरू, एपोन मार्केटिङ सर्कलका पदाधिकारीहरू र औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक तथा एपोनका वरिष्ठ सल्लाहकार राधारमण प्रसाद ज्युको उपस्थिति थियो । उक्त तथ्यांकले नेपाली औषधि उद्योगको निरन्तर वृद्धि र प्रगति प्रदर्शित गरेको छ ।
सार्वजनिक तथ्यांक अनुसार, ७६ सदस्य उद्योगहरूमध्ये ६७ उद्योगले बजारमा औषधि वितरण गरिरहेका छन्। नयाँ उद्योगहरूले १७ प्रतिशत भन्दा माथिको वृद्धि दर हासिल गरेका छन् भने पुराना उद्योगहरूको वृद्धि दर ९ प्रतिशतको हाराहारीमा रहेको छ ।
विक्रीको तुलनामा पनि ठूलो अन्तर देखिएको छ । सबैभन्दा कम बिक्री गर्ने उद्योगको कारोबार ६ करोड रुपैयाँ रहेको छ भने सबैभन्दा बढी बिक्री गर्ने उद्योगले ३५० करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । मुख्य रूपमा ६ वटा उद्योगले सय करोड रुपैयाँभन्दा बढी बिक्री गरेका छन् भने २५० करोड रुपैयाँभन्दा बढीको बिक्री गर्न सफल भएका उद्योगको संख्या ५ मात्रै रहेको देखिन्छ ।
त्यस्तै, ५० करोड रुपैयाँभन्दा बढी बिक्री गर्न सक्ने उद्योगको संख्या ५ मात्र छ भने १५ करोड रुपैयाँभन्दा कम बिक्री गर्ने उद्योगहरूको संख्या ७० प्रतिशत रहेको छ।
कार्यक्रममा बोल्दै एपोनका उपाध्यक्ष सन्तोष बरालले भने, “नेपाली औषधि उद्योगले निरन्तर प्रगति गरिरहेको छ । नयाँ उद्योगहरूको सहभागिता उल्लेखनीय रहेको छ । अबको लक्ष्य गुणस्तरीय उत्पादनसहित अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुग्नु हो ।”
नेपाली औषधि उद्योगले पछिल्ला वर्षहरूमा उत्पादन, बजारीकरण र गुणस्तरमा सुधार गर्दै उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ ।