कैलाली- सुदूरपश्चिम प्रदेश सरकारको एक मात्र प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा जम्मा २७ जनाको स्वीकृत दरबन्दी रहेको छ । २०७९ असोजबाट सेवा सुरु गरेको चिकित्सालयमा विज्ञ चिकित्सक नहुँदा उपचार सेवा विस्तार गर्न समस्या भएको चिकित्सालयका मेसु डाक्टर रामकामेश्वर ठाकुरले बताए । “हामीसँग पर्याप्त भौतिक संरचना छ । चिकित्सालयमा २७ जनाको दरबन्दी छ । विज्ञ चिकित्सकको अभावमा अस्पतालको सेवा प्रभावित भएको छ,” मेसु ठाकुरले भने।
धनगढी-१३ राजपुरमा रहेको आयुर्वेदिक चिकित्सालयमा जनरल ओपिडी, बालरोग ओपिडी, जनरल मेडिसिन, स्त्री तथा प्रसूति ओपिडी सञ्चालनमा छन्। चिकित्सालयमा ओपिडी र इन्डोर सेवा समेत सञ्चालन गरिएको छ। बिरामीहरूलाई पूर्वकर्म, पञ्चकर्म, गुदगद रोगको शल्यक्रिया सेवा, होमियोपेथी योग तथा परामर्श सेवा सञ्चालनमा रहेको मेसु ठाकुरले बताए ।
सुरुको वर्ष नि:शुल्क औषधी दिएको हुँदा २९ हजार ५३८ ले उपचार सेवा लिएका छन् । गत वर्षबाट स-शुल्क उपचार सेवा दिन थालेकाले २७ हजारले उपचार सेवा लिएका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा २६ हजार ७ सयभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिएको मेसु ठाकुरले बताए। प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा पायल्स, फिसर फिस्टुलाको प्रभावकारी उपचार हुने गरेको छ ।