

बिराटनगर- बरिष्ठ न्यूरो सर्जन डा. याम बहादुर रोका सम्मानित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र विराट नर्सिङ होमले लामो समयदेखि कोशी प्रदेशमा रहेर चिकित्सा क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै डा. रोकालाई सम्मान गरेको हो ।
अस्पतालले बुधवार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा विराट शिक्षण अस्पतालमा एक कार्यक्रम आयोजना गरि डा. रोकालाई सम्मान गरिएकाे थियाे । सम्मान कार्यक्रममा प्रदेशप्रमुख पर्शुराम खापुङले न्यूरो सर्जरी सहितको चिकित्सा सेवामा जिवनको महत्वपूर्ण १५ वर्ष अनवरत सेवा दिएर ठुलो योगदान पुर्याएकोमा बधाई तथा सुभकामना दिएका थिए ।
कार्यक्रममा अस्पतालका प्रमुख डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराटनगरकै अन्य अस्पतालमा काम गरि ठूलो संख्यामा विरामीलाई सेवा दिएका डा. रोक्कालाई सम्मान गर्न पाउनु सुखद भएको बताएका थिए।
उनले भने, ‘ त्यो समय जतिबेला सामान्य दुर्घटनाबाट चोटपटक लाग्दा पनि उपचार गर्न कि त काठ्माण्डौ कि त भारत जानुपर्ने बाध्यता दियो, त्यो समयदेखि कोशी प्रदेशमा पहिलोपटक न्यूरो सेवामा लागेका चिकित्सकलाई सम्मान गर्न पाउनु गर्वको कुरा हो ।’
गण्डकी प्रदेश वाग्लुङ घर भएका डा. रोक्का पोखरास्थित गण्डकी मेडिकल कलेजमा प्रोफेसरको रुपमा आवद्ध हुनजान लागेको बताएदै डा. कार्कीले आउनेदिनहरुमा सहकार्यको लागि बाटो खुला रहेको बताए ।
उनले भने, ‘अहिले पनि मलाई धोको छ, यदि त्यस्तो सहकार्य गर्ने अवसर मिले आउने दिनमा सहकार्य गर्नका लागि हामी खुलाछौ ।’
त्यसैगरी, सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा रोक्काले आफूले विराटनगरमा कामगरिरहदा सर्वसाधारणबाट निकै ठूलो सहयोग पाएको बताए ।
सम्मान कार्यक्रममा बिराट नर्सिङ होमका सिइओ डा. निकिता कार्की, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत, अस्पतालका मेडिकल डाइरेक्टर डा. दिप्तेश अर्यालले डा. रोकाको योगदानको खुलेर प्रशंसा गरेका थिए ।
विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा रहेर लामो लामो समयसम्म बिरामीलाई सेवा दिएका डा. रोकालाई केही समयअघि मात्र अस्पतालले बिदाई गरेको थियो । डा. रोका पोखरास्थित गण्डकी मेडिकल कलेजमा प्रोफेसरको रुपमा आवद्ध हुन जान लागेका हुन् ।
आज भन्दा १५ वर्ष अगाडि कोशी प्रदेशमा पहिलो पटक मष्तिस्कको शल्यक्रियाको शुरुवात गरेका डा. रोकाले न्यूरो सर्जरीको लागी विदेश तथा काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त गरेका थिए । न्यूरो सर्जरीमा एमसीएच गरेका डा. रोकाले मस्तिष्क शल्यक्रियाको १५ वर्षे अवधिमा हजाराैं हजार बिरामीको शल्यक्रिया गर्न सफल भएका छन् ।