

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेवीलाई सरकारले सहयोग गर्ने बताएका छन्।
सहिद दिवसका अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमितिले जनकल्याण सामाजिक केन्द्रसँगको सहकार्यमा हिजाे आयोजना गरेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग रहने बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यक पर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ ।”
स्वास्थ्यमन्त्री पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्ने सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि कांग्रेसले अगुवाई गर्नसमेत आग्रह गरे ।
आँखा शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची बनाएर शल्यक्रियाका लागि शिविर गरिने उनको भनाइ थियो ।