

काठमाडौं- निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूले पाइरहेको निर्वाह भत्ता केही मात्रै बढाइएको छ ।
चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३५ हजार भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेका हुन् ।
त्यसैगरी, निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययनपश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने निर्णय पनि गरिएको छ ।
निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध गराउनुपर्नेछ ।
यसअघि न्यून रूपमा निर्वाह भत्ता दिने गरेको भन्दै आवासीय चिकित्सकहरू आन्दोलन गर्दै आएका थिए । हाल निजी मेडिकल कलेजले चिकित्सकलाई मासिक १९ हजार देखि २४ हजारसम्म निर्वाह भत्ता दिँदै आएका छन् । आवासीय चिकित्सकहरूले सरकारी मेडिकल कलेजसरह मासिक ४८ हजार निर्वाह भत्ता दिनुपर्ने माग राख्दै आएका छन् ।
निजी मेडिकल कलेजमा निर्वाह भत्ता विवाद मिलाउन आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीद्वयलाई जिम्मेवारी दिएका थिए ।




