काठमाडौं- अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले कोरोना भाइरस प्रयोगशालामा तयार गरिएको हुनसक्ने आशंका गरेको छ ।
सीआईएले शनिबार प्रतिवेदन सार्वजनिक गर्दै चीनलाई कोभिड–१९ का लागि जिम्मेवार ठहराएको छ । सीआईए निर्देशक जोन र्याटक्लिफको आदेशमा सार्वजनिक गरिएको यो प्रतिवेदन बाइडेन प्रशासन र सीआईएका पूर्वनिर्देशक विलियम बर्न्सको आदेशमा तयार पारिएको हो । तर, सीआईएको प्रतिवेदनको दाबीलाई प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको बताएको छ ।
सीआईएले शनिबार जारी गरेको एक सन्देशमा भनेको छ, ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड– १९ महामारीको उत्पत्तिमा प्रयोगशालासँग सम्बन्धित कारण प्राकृतिक कारणभन्दा बढी सम्भावित भएको हाम्रो ‘कम आत्मविश्वास’ सहितको मूल्यांकन छ ।’
सीआईएको यो रिपोर्टले कोरोना भाइरसलाई पुनः एकपटक चर्चामा ल्याएको छ । गुप्तचर अधिकारीहरूले चिनियाँ सहयोग अभावले यो रहस्य सायद कहिल्यै पूर्ण रूपमा समाधान हुन नसक्ने बताएका छन् ।
तर, चीनले अमेरिकी आरोप र कोभिड–१९ को उत्पत्तिबारे कुनै पनि प्रकारका अडकलबाजीलाई आधारहीन र राजनीति प्रेरित भएको बताएको छ ।
चिनियाँ अधिकारी लिउ पेंग्यूले भनेका छन्, ‘हामी भाइरसको उत्पत्तिलाई राजनीतीकरण र कलंकित गर्न खोज्ने प्रयासको कडा विरोध गर्दछौं । हामी सबैलाई विज्ञानको सम्मान गर्न र षड्यन्त्र सिद्धान्तहरूबाट टाढा रहन अपिल गर्दछौं ।’