वीरगञ्ज- पर्सामा रहेका अस्पताल तथा स्वास्थ संस्थाको शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवम् सुरक्षा निकायको उपस्थितीमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बैठकले सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवा थप सरल,पारदर्शी बनाउने, सरकारबाट स्वीकृत मापदण्ड तथा नीतिहरुको पूर्ण परिपालना गर्ने/गराउने,अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप प्रभावकारी बनाउने, अनुगमनको क्रममा विषयविज्ञ तथा नेपाल चिकित्सक संघको समेत प्रतिनिधि सहितको टोली परिचालन गर्ने निर्णय भएको छ ।
यस्तै, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले सेवा, सुविधा, पारिश्रमिक लगायतका विषयमा चासो वा माग राखेकै कारण उनीहरु माथि फरक व्यवहार गर्ने सेवाबाट हटाउने कार्य नगर्ने/नगराउने,स्वास्थ्यकर्मीहरुको आचारसंहित पूर्णपरिपालना गराउने तथा उपचारको क्रममा स्वास्थ्यकर्मीहरु माथि मानसिक र शारिरिक दवाव दिने, संस्थामा तोडफोड गर्ने, हातपात गर्ने जस्ता उत्छृङ्खल क्रियाकलापहरुलाई नियन्त्रण गर्न शून्य सहनशीलताको नीति अपनाउने पनि बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले एम्बुलेन्सको भाडा दर पनि तोकेको छ । बैठकले वीरगञ्ज महानगरको शहरी क्षेत्रबाट सबै अस्पतालहरुमा बिरामी पुर्याउन पाँच सय,वीरगञ्जदेखि भारतको रक्सौलसम्म ६ सय पचास रुपैयाँ भाडा तोकेको छ ।
यस्तै, वीरगञ्जदेखि भरतपुरसम्म सात हजार पाँच सय,काठमाडौंसम्म दस हजार एम्बुलेन्सको भाडा तोकिएको जिल्ला प्रशासनले जनाएको छ ।
यसैगरी, बैठकले पर्सामा संचालित दर्ता नभएका एम्बुलेन्सलाई १५ दिनभित्र जिल्ला एम्बुलेन्स समितीमा दर्ता गर्न र एम्बुलेन्समा जिपिएस सिस्टम लगाउन पनि निर्देशन दिने निर्णय गरेको छ ।