

एजेन्सी- भारतका एक चिकित्कसले ३२ किलोमिटर टाढा रहेका बिरामीको शल्यक्रिया गरेका छन् । अन्तर्राष्ट्रिय रुपम चर्चित हृदयरोग विशेषज्ञ डा तेजस पटेलले भारतको गान्धीनगरमास्थित अक्षरधाम मन्दिरबाट ३२ किम टाढा रहेको एपेक्स अस्पतालमा रहेकी एक महिला बिरामीको शल्यक्रिया गरेका हुन् ।
उनले संसारकै पहिलो टेलिरोबोटिक कार्डियोभास्कुलर स्टेन्ट शल्यक्रिया गरि इतिहास रचेका हुन् । बढ्दै गएको प्रविधिको मद्दतले उनले संसारकै पहिलो मानव टेलिरोबोटिक कोरोनरी इन्टरभेन्सन मार्फत् महिला बिरामीमा शल्यक्रिया गरेका हुन् ।
डा पटेलले केही दिन पहिले उक्त महिलालाई हृदयघात भएपछि अवरोध हटाउने शल्यक्रिया गरेका थिए । बुधवार उनलाई पुनः अर्को अवरोध देखिएको थियो । यसै क्रममा डा पटेलले गान्धीनगरस्थित अक्षरधाम मन्दिरबाट एपेक्स हर्ट इन्स्टिच्युट, अहमदाबादमा रहेको महिला बिरामीको शल्यक्रिया गरे ।
केही मिनेट लामो शल्यक्रियामा डा पटेलले टेलिरोबोटिक्स प्रविधिको उपयोग गरे। रोबोटिक सिस्टम अपरेशन थिएटरमा राखिएको थियो र उनले उच्च गतिको इन्टरनेटको माध्यमबाट मन्दिरबाट उक्त प्रणालीलाई सञ्चालन गरे । मन्दिरबाट बटन चलाउँदै, बिरामीको धमनी सफा गरी एक स्टेन्ट राखियो । शल्यक्रियाको दौरान, कुनै आपत्ति हुन सक्छ भनेर सो अस्पतालमा चिकित्सक र प्यारामेडिकल टिम उपस्थित थिए ।